टिकटकमा सस्तो कपडा बेच्ने भन्दै अनलाइन ठगी, १७ वर्षीय बालक पक्राउ

टिकटकमा सस्तो कपडा बेच्ने भन्दै अनलाइन ठगी, १७ वर्षीय बालक पक्राउ

police office kaski

पोखरा । सामाजिक सञ्जाल टिकटकमार्फत सस्तो मूल्यमा कपडा बिक्री गर्ने भन्दै अनलाइन ठगी गरेको आरोपमा कास्की प्रहरीले १७ वर्षीय एक बालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार टिकटकमा Sandhya Collection (@sandhyacollection35) नामको आईडी बनाएर विभिन्न किसिमका कपडा सस्तो मूल्यमा बिक्री गर्ने भन्दै ग्राहकलाई आकर्षित गर्ने गरिएको थियो। खरिद गर्न चाहने व्यक्तिसँग WhatsApp नम्बर ९७०८४७१९११ मार्फत कुराकानी गरी रकम जम्मा गर्न लगाउने र रकम प्राप्त नभएको भन्दै ओटीपी (OTP) कोड मागेर ठगी गर्ने गरेको जाहेरी प्रहरीमा परेको थियो।

जाहेरीपछि जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल प्रहरी साइबर ब्युरो भोटाहिटी काठमाडौंले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उक्त WhatsApp नम्बरको आईपी एड्रेस ट्र्याक गर्दै जाँदा ठगीमा संलग्न व्यक्ति धनुषाको जनकनन्दिनी गाउँपालिका–१ का १७ वर्षीय बालक रहेको खुलेको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीको सहयोगमा प्रहरीले उनलाई असोज १९ गते आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका बालकको साथबाट ठगीमा प्रयोग भएको दुई थान मोबाइल, सामसुङ कम्पनीको एक थान ट्याब र एक थान वाइफाइ राउटर बरामद गरिएको छ। उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका बालकले ठगीका लागि विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोग गरेको खुलेको छ। उनले सिद्धार्थ बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक तथा ईसेवाका खातामार्फत रकम कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त बैंक खाता तथा WhatsApp नम्बर ९७०८४७१९११ बाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई समेत जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया

भर्खरै