पोखरा । नेपालीहरुको महान पर्व दसैँ लगायत अन्य चाडपर्वहरुलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क नजिकै रहेको यात्रु सहायता कक्षको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बुधबार उद्घाटन गर्नुभएको छ । सर्वसाधारण एवं यात्रुहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वका बेला हुन सक्ने टिकटमा कालोबजारी, ठगी, चोरी, पाकेटमारी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउन पृथ्वीचोक बसपार्क तथा नाकाहरूमा गरी ७ ठाउँमा यात्रु सहायता कक्षहरू स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीलेजानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले चाडपर्वहरुलाई लक्षित गरी विगतका वर्षहरुमा पनि यात्रु सहायता कक्ष निमार्ण गरिएको बताउँदै यात्रु सहायता कक्षले यात्रुहरुलाई सहज यात्राका लागि सघाउने बताउनुभयो ।