पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्क क्षेत्रमा बुधबार बिहानको अवस्था र वातावरण सामान्य थियो । बिहानै पानी परेर खुलेको मौसममा घाम लागिरहेको थियो । तर बिहान करिब ९ः५४ बजेतिर एक्कासी आगो लागेको दृश्य देखियो । त्यसलगत्तै मानिसहरू चिच्याएको आवाज सुनियो । केही बेरमै आगो फैलिन थालेपछि स्थानीय तथा आसपासका मानिसहरू त्रसित भए ।

तर यो वास्तविक आगलागी थिएन । आगलागीबाट हुन सक्ने जनधनको क्षति कम गर्न पूर्वतयारी र प्रतिकार्य क्षमता परीक्षण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा गरिएको संयुक्त आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास थियो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय सहभागी थिए । रेबान पोखराको सहकार्यमा गरिएको अभ्यासमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ग्यास चुहावटबाट आगलागी हुँदा कसरी तत्काल निभाउने भन्ने देखाइएको थियो ।
आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि नजिकको सुरक्षा निकायलाई खबर गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रणको काम अघि बढाएको दृश्य अभ्यासमा देखाइयो । अभ्यासमा आगलागी भएको भवनभित्र मानिस फसेको अवस्था देखाउँदै उद्धारकर्मीले पीडितलाई सुरक्षित स्थानमा निकाल्ने, घाइतेलाई प्राथमिक उपचारका लागि लैजाने तथा थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया पनि प्रदर्शन गरिएको थियो । आगो नियन्त्रणका क्रममा साँघुरो गल्ली तथा घना बस्तीमा दमकल पुग्न कठिन हुने अवस्थालाई समेत अभ्यासमा समेटिएको थियो । त्यस्तो अवस्थामा पोर्टेबल फायर पम्प, पानी, बालुवा तथा अन्य उपलब्ध साधनको प्रयोगबाट आगो नियन्त्रण गर्ने तरिका देखाइएको थियो ।
आगलागी अन्य होटल तथा रिसोर्टमा फैलिन नदिन फायरलाइन बनाउने, भवनभित्र रहेका मानिस तथा सामान सुरक्षित स्थानमा सार्ने र उद्धारकर्मीले जोखिम मूल्याङ्कन गर्दै काम गर्ने अभ्यास पनि गरिएको थियो । आगोमा जलेका व्यक्तिको उद्धार र उपचारको अभ्यास गरिएको थियो । आगो लागेको व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने, फायर ब्ल्याङ्केट तथा चिसो पानीको प्रयोग गर्ने र प्राथमिक उपचारपछि स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया देखाइएको थियो । नेपाल रेडक्रस सोसाइटी कास्की एम्बुलेन्ससहितको मेडिकल टोलीले प्राथमिक उपचारको अभ्यास गरेको थियो ।
अभ्यासको क्रममा भवनभित्र प्रवेश गर्ने बाटो बन्द भएको अवस्थामा भ¥याङ तथा डोरीको सहायताले माथिल्लो भागसम्म पुगेर उद्धार तथा आगो नियन्त्रण गर्ने अभ्यास गरिएको थियो । आगलागीजस्ता विपद् सामान्य सावधानी र तत्कालको सही निर्णयले ठुलो क्षति रोक्न सकिने सन्देश अभ्यासले दिएको छ । आगलागी तथा अन्य विपद्का बेला समन्वय, सूचना, सुरक्षा र शीघ्र उद्धार नै प्रभावकारी प्रतिकार्यका आधार भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले बताउनुभयो । यो अभ्यासले विशेषगरी होटल, रिसोर्ट तथा घना बस्तीमा ग्यासजन्य आगलागी हुँदा अपनाउनुपर्ने सावधानी र सुरक्षा निकायबिचको समन्वयलाई व्यवहारिक रूपमा देखाइएको थियो ।