काठमाडौँ । यो वर्षको मनसुनी वायु कमजोर हुँदै गएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । ३ अक्टोबर अर्थात् असोज १७ गतेदेखि नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ ।

सामान्यतया मनसुन नेपालमा सरदर जुन १३ मा प्रवेश गर्दछ र अक्टोबर २ मा बाहिरिने गर्दछ । यस वर्ष नेपालमा करिब ६ दिन ढिला अर्थात् जुन १९ मा मनसुन प्रवेश गरेको थियो । प्रशान्त महासागरमा विकसित एलनिनोका कारण मनसुन आगमनमा प्रभाव परेको मौसम विज्ञहरुको भनाइ छ । समुद्रमा हुने तापक्रमको थपघटले विकसित हुने ‘एलनिनो’ को प्रभाव विश्वभर नै पर्ने गर्दछ ।
विगतका केही वर्षमा पनि एलनिनो प्रभावले मनसुन आगमन ढिलो भएको थियो । विभागका अनुसार सन् १९७२ जुन १८, १९८२ जुन २७, १९८३ जुन २४, १९८७ जुन १४, १९९२ जुन २१, १९९७ जुन १४, २००२ जुन १५, २००९ जुन २३, २०१६ जुन १५, २०१९ जुन २०, २०२३ जुन १४ मा मनसुन भित्रिएको थियो ।
यस वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको थियो । यो मनसुन अवधिमा मनसुनको अन्तिम महिनामा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव पर्यो । नेपाल मौसम विज्ञान विभागका प्रवक्ता एवम् मौसमविद् विभूति पोखरेलले मनसुन सुरु हुनुपूर्व एलनिनो प्रभावका कारण सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको बताउनुभयो । यद्यपि, नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएको आजको दिनससम्म कति वर्षा भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
प्रवक्ता पोखरेल भन्नुहुन्छ, “एलनिनो प्रभावका कारण सामान्यतया साउथ एसियामा मनसुनको प्रभाव कम हुने र वर्षा कम हुने भन्ने पूर्वानुमान सुरुमै निकालेका हौं । पछिल्लो समय बङ्गालको खाडीमा विकसित नयाँ प्रणाली ‘डिप्रसन’ सक्रिय भयो । समग्रमा मनसुनकै कारणबाट हुने वर्षा कम भएता पनि लगातार वर्षा भयो र धेरैजसो पहाडी भूभागहरुमा बाढीपहिरो गयो ।” सबै क्षेत्रको तथ्याङ्क उपलब्ध भएपछि मात्रै मनसुनमा कति वर्षा भयो भनेर ठोकुवा गर्न मिल्ने उहाँको भनाइ छ ।