डोल्पाका च्याङ्ग्रा आइपुगे पोखरा

डोल्पाका च्याङ्ग्रा आइपुगे पोखरा

changra

पोखरा। दसैँलाई लक्षित गरी कर्णाली प्रदेशको डोल्पाबाट च्याङ्ग्रा पोखरा ल्याउन थालिएको छ । दसैँ सुरु हुन करिब दुई साताअघि नै बिक्रीका लागि च्याङ्ग्रा पोखरा ल्याइएको हो । अन्य समयमा खसी, बोका र कुखुराको मासु खाने गरे पनि दसैँका बेला च्याङ्ग्राको मासु खाने चलन रहेको व्यापारी बताउँछन् । च्याङ्ग्रा व्यापारी दुःखीराम बोहोराले डोल्पाबाट करिब २५ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याएको जानकारी दिनुभयो ।

“यहाँ ल्याइपुर्‍याउन २५ दिन लाग्यो । बाटोमा दुई–तीन दिन आराम पनि गरियो,” उहाँले भन्नुभयो, “यति बेचिसकेपछि घर गइन्छ कि, त्यतिञ्जेल दसैँ पनि लागिहाल्ला ।” जुम्लाको गोठीचौर–२ का बोहोरा पहिलो पटक च्याङ्ग्रा लिएर पोखरा आउनुभएको हो । उहाँले करिब एक सय वटा च्याङ्ग्रा ल्याउनुभएको छ । जुम्लाकै मिमप्रसाद बोहोराले भने २२ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याउनुभएको छ । दुई दिनअघि पोखरा ल्याइपुर्‍याइएका उहाँका एक सयमध्ये करिब ३० वटा च्याङ्ग्रा बिक्री भइसकेका छन् ।

डोल्पाबाट दुई टोलीले च्याङ्ग्रा ल्याएसँगै अहिले पोखरामा मूल्यसमेत उच्च रहेको व्यापारी बताउँछन् । साना च्याङ्ग्रा २२ हजारदेखि ठूला च्याङ्ग्रा ४५ हजार रुपियाँसम्ममा बिक्री भइरहेको छ । पोखरामा मुख्य रूपमा मनाङ, मुस्ताङ र म्याग्दीका व्यापारीले भेडाच्याङ्ग्रा ल्याउने गरेकामा पछिल्ला केही वर्षयता पश्चिम नेपालबाट समेत च्याङ्ग्रा ल्याउन थालिएको छ । मुस्ताङका च्याङ्ग्रा भने अझै पोखरा आइपुगेका छैनन् असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण बाटो बिग्रिएपछि यस वर्ष च्याङ्ग्रा ल्याउन ढिलाइ भएको हो ।

प्रतिक्रिया