गण्डकीमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बने,

गण्डकीमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बने,

phanindra

पोखरा । गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई बुधबार मन्त्रीमा नियुक्त गरेका हुन् । उनले बुधबारै सपथ लिएका छन् । उनलाई पुरानौ ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ । खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाले भौतिक मन्त्रालयको जिम्मा पाएका छन् । भौतिकमा यसअघि एमालेका गोविन्दबहादुर नेपाली मन्त्री थिए ।

पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रोपटक मन्त्री बनेका हुन् । पहिला ऊर्जा मन्त्रीको जिम्मा पाएका उनलाई तत्कालीन एकीकृत माओवादीले कारवाही गरेपछि पदबाट बाहिरिएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको थियो । माओवादी केन्द्रको सिफारिसमा उनलाई सांसद पदबाट मुक्त गरिएपछि उनी मन्त्री पदबाट समेत हटेका थिए । तर सर्वोच्चले उनलाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उनलाई पुनः सरकारमा सामेल गराएका थिए ।

देवकोटाले पोहोर जेन्जी आन्दोलनपछि मन्त्री पद त्यागे पनि काँग्रेसको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका थिएनन् । एमाले बाहिरिए पनि राप्रपा र नेसपाको समर्थनमा कांग्रेसलाई टुपुक्क बहुमत पुग्छ । गोरखाबाट राजनीतिमा स्थापित देवकोटाको पछिल्लो राजनीतिक यात्रा निकै उतारचढावपूर्ण छ । उनी २०७९ सालको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । सोही क्रममा उनले माओवादी केन्द्रको चुनावी चिह्न ‘गोलाकार भित्रको हँसिया हथौडा’ लिएर चुनाव जितेका थिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने क्रममा देवकोटाले पार्टीको ह्विप उल्लंघन गरेका थिए । माओवादी केन्द्रले सरकारको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर देवकोटाले आफू नेपाल समाजवादी पार्टीको छुट्टै अस्तित्वमा रहेको र आफूलाई ह्विप नलाग्ने दाबी गरे । उनले फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेपछि पाण्डेको सरकार जोगिएको थियो । मुख्यमन्त्रीलाई सत्ता जोगाउन महत्वपूर्ण भूमिका खेलेपछि देवकोटालाई सुरुमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाइएको थियो ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds