पोखरा । रसुवा बाढीमा परी ज्यान गुमाएका १ सय २ व्यक्तिमध्ये ५७ जनाको पोस्टमार्टम सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका शवमध्ये ४५ वटाको भने पोस्टमार्टम हुन बाँकी छ । अस्पतालले भदौ ११ गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ ।

पोस्टमार्टम सकिएका शवमध्ये हालसम्म १२ जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको छ । अस्पताल प्रशासनका अनुसार अन्य शवको पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया अहिले पनि जारी छ । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भदौ १० गते आएको बाढीका कारण यी व्यक्तिहरूले ज्यान गुमाएका थिए ।
अस्पतालमा पोस्टमार्टम सम्पन्न भएका थप ९ वटा शवलाई परिवारको जिम्मा लगाउन मनिपाल शिक्षण अस्पताल पठाइएको छ । मनिपाल पठाइएका शवमा २ जना बालबालिका र ७ जना वयस्क रहेका छन् । अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छरितो बनाउन विशेष जनशक्ति खटाएको जनाएको छ ।
बाढीमा परी मृत्यु भएकाहरूको शव भदौ ११ गते विहान विभिन्न समयमा अस्पताल आइपुगेका थिए । अस्पतालको तथ्यांक अनुसार तनहुँबाट २३, गोरखाबाट ११, गैंडाकोटबाट ४१ र धादिङबाट २७ वटा शव प्राप्त भएका थिए । ती सबै शवलाई सुरक्षित रूपमा राखी प्रक्रियागत ढंगले आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको छ ।
अस्पताल हातामा शवको पहिचान गर्न आउने परिवार र आफन्तलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्कमार्फत शवको विवरण दिने र हस्तान्तरण प्रक्रियालाई व्यवस्थित बनाउने काम भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले आफ्ना सबै संयन्त्र परिचालन गरी शव व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन लागिपरेको बताएको छ ।