पोखरा बसपार्कबाट सुकुम्बासी स्थानान्तरण गरिने

पोखरा बसपार्कबाट सुकुम्बासी स्थानान्तरण गरिने

buspark

पोखरा । पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेका सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अर्को सातादेखि अघि बढ्ने भएको छ । वडा तहको सहजीकरण समितिले दाबी–विरोध र आवश्यक छानबिनपछि ५ सय ६७ परिवारको अन्तिम नामावली तयार पारेको छ । वडा समितिको सोमबार बसेको बैठकले उक्त प्रतिवेदनलाई पारित गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ ।

बसपार्क क्षेत्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीको अन्तिम संख्या टुंगो लागेसँगै स्थानान्तरणको बाटो खुलेको हो । अन्तिम विवरण अनुसार ३ सय २५ परिवार भूमिहीन सुकुम्बासी र २ सय ४२ परिवार अव्यवस्थित बसोबासीका रुपमा सूचीकृत भएका छन् । भूमिहीनमध्ये १ सय ४४ परिवार भूमिहीन दलित र १ सय ८१ परिवार भूमिहीन सुकुम्बासी रहेको वडा समितिले जनाएको छ ।

यसअघि संकलन गरिएको प्रारम्भिक विवरणको तुलनामा अन्तिम सूचीमा संख्यात्मक फेरबदल देखिएको छ । सुरुमा ५ सय ६४ परिवारले निवेदन दिएका थिए । प्रारम्भिक विवरणमा भूमिहीन दलित २ सय, भूमिहीन सुकुम्बासी २ सय ४८ र अव्यवस्थित बसोबासी १ सय १६ जना थिए । वडाले प्रकाशन गरेको सूचनामाथि परेका दाबी–विरोध र संशोधनका निवेदनमाथि छानबिन गर्दा सुकुम्बासीको संख्या घटेको छ भने अव्यवस्थित बसोबासीको संख्या बढेको छ ।

दाबी–विरोध र छानबिनपछि भूमिहीन दलितको संख्या ५६ ले घटेको छ । त्यस्तै भूमिहीन सुकुम्बासीको संख्या पनि पहिलेभन्दा ६७ ले घटेको वडाको तथ्यांकमा देखिन्छ । अव्यवस्थित बसोबासीको संख्या भने प्रारम्भिक विवरणको तुलनामा १ सय २६ ले बढेर २ सय ४२ कायम भएको छ । वडा तहको सहजीकरण समितिले स्थलगत अध्ययन र प्रमाणका आधारमा अन्तिम नामावली सिफारिस गरेको हो ।

वडा समितिले सिफारिस गरेको यो प्रतिवेदनमाथि अब पोखरा महानगरपालिकाको कार्यपालिका बैठकमा छलफल हुनेछ । महानगरले यसै साता उक्त नामावलीलाई जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ । जिल्ला समितिबाट आवश्यक प्रक्रिया पुरा भएपछि अर्को सातादेखि बसपार्क क्षेत्रबाट बस्ती स्थानान्तरण गर्ने कार्य सुरु गरिनेछ ।

स्थानान्तरण प्रक्रियालाई व्यवस्थित बनाउन महानगरले आवश्यक तयारी गरिरहेको छ । ‘दाबी–विरोध र छानबिनपछि वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान भएको छ,’ वडा समितिका एक सदस्यले भने । वास्तविक भूमिहीनलाई समस्या नपर्ने गरी र अव्यवस्थित बसोबासीलाई नियमानुसार व्यवस्थापन गर्ने महानगरको योजना छ । महानगरले प्रतिवेदन प्राप्त गरेलगत्तै जिल्ला समितिसँग समन्वय गरी स्थानान्तरणको कामलाई गति दिनेछ । बसपार्कको स्तरोन्नति र सहरी विकासका लागि यो क्षेत्रलाई खाली गर्नुपर्ने दबाब महानगरलाई छ । अर्को सातादेखि सुरु हुने स्थानान्तरण प्रक्रियाले बसपार्क क्षेत्रको मुहार फेरिने विश्वास लिइएको छ । नामावलीमा नाम समावेश भएका परिवारलाई प्रक्रिया अनुसार व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया