पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह कास्कीबाट हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि शनिबार मुस्ताङ प्रस्थान गर्नु भएको छ ।

सडकमार्गहुँदै शुक्रबार काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह उहाँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज बस्नु भएकाे हाे । उहाँको याे निजी भ्रमणा हाे । शुक्रबार दिउँसाे ३ बजे अस्ताम पुग्नु भएका साह शनिबार बिहान कास्कीबाट पर्वतहुँदै मुक्तिनाथ पुग्ने कार्यक्रम छ । कास्की, पर्वत, म्याग्दी र मुस्ताङको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रधानमन्त्री शाह शनिबार जोमसोममा बसोबास गरी आइतबार बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुसालले बताउनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री आउने सूचना पाएपछि हामी तयारीमा जुटेका छौँ। विशेष पूजा गर्न चाहनुभयो भने त्यसका लागि पनि आवश्यक सबै तयारी गरिएको छ।”
समुद्री सतहदेखि ३ हजार ६१० मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा प्रधानमन्त्री शाहका लागि दर्शन, पूजापाठ तथा स्नानस्थल व्यवस्थापनको तयारी गरिएको छ। साथै, सचिवालयका प्रतिनिधिमार्फत आवश्यक समन्वय गरी मन्दिरबाट हालसम्म भएका कार्य तथा योजनाबारे जानकारी गराउने तयारी समेत गरिएको समितिले जनाएको छ।