पोखरा । कास्की प्रहरीले अवैध भरुवा बन्दुक र धारिलो हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति करिब १० बजे प्राप्त गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१४ मझेरीपाटनस्थित ३० वर्षीय साजन विकको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा साजन सुत्ने कोठामा लुकाएर राखिएको एक थान भरुवा बन्दुक र एक थान फलामको धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले साजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बरामद भएको हतियारको कुनै पनि इजाजतपत्र नरहेको र उक्त बन्दुक सोही स्थानका ३० वर्षीय संजय नेपालीले राख्न दिएको खुलेको थियो। त्यसपछि प्रहरीले संजय नेपालीलाई पनि पक्राउ गरेको छ।
दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।