पोखरामा राेजगार मेला, जागिर खोज्ने र दिने एउटै थलोमा

पोखरामा राेजगार मेला, जागिर खोज्ने र दिने एउटै थलोमा

me-1024×576

पोखरा । जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला (जब फेयर) सुरु भएको छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको आयोजनामा मेला सुरु भएको हो । बुलादीस्थित इभेन्ट सेन्टरमा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार उद्घाटन गरे ।

रोजगारीको खोजीमा रहेका जनशक्तिलाई सोही ठाउँमा रोजगारीका अवसरसँग जोड्न यो मेला आयोजना गरिएको हो । मेलामा रोजगारी चाहनेले आफ्नो व्यक्तिगत विवरण पेस गर्ने र रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । मेलामा नेपालका प्रतिष्ठित ५० भन्दा बढी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ । यसले गर्दा रोजगारी खोज्ने र रोजगारदाता बीच प्रत्यक्ष भेटघाट हुने वातावरण बनेको छ ।

मेलामा लक्ष्मी समूह, भाटभटेनी सुपर मार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेस्ट पोखरा, अन्नपूर्ण केबलकार, सेल्सबेरी, एनपिएल, ब्ल्याकटेक प्राली र आइएमई खल्ती लिमिटेड जस्ता संस्थाहरु सहभागी छन् । त्यसैगरी वर्ल्डलिंक कम्युनिकेसन, प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड, रमेश कर्प प्राली, नेपाल मनिपाल टिचिङ अस्पताल प्राली, थियोगा क्लिन इनर्जी प्राली, सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स र मुक्तिनाथ विकास बैंकको पनि उपस्थिति छ । होटल बाराही, आइएमई अटोमोबाइल्स, धरोहर कन्सल्टेन्सी एण्ड कन्सल्टिङ प्राली, सिटीजन लाइफ इन्स्योरेन्स, अटोवेज प्राली, पोखरा नुडल्स प्राली, फुडमाण्डु प्राली, रुपाकोट रिसोर्ट प्राली र क्युएफएक्सले पनि मेलामा स्टल राखेका छन् ।

यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स, मो राइड्स प्राली, इसेवा, टेम्पलबेल बुटिक होटल, ट्यांकुलिटी स्पा, टेम्पल ट्री होटल एण्ड स्पा, बेटर एप्लायन्सेस, सिद्धार्थ इन्स्योरेन्स प्राली, पोखरा इन्टरनेट तथा अर्ला केबल, डिश होम, नेपाल क्यान ग्रुप, सन्ध्या जब्स, बन्दीपुर केबलकार, मारुती सिमेन्ट, युनाइटेड डिस्ट्रिब्युटर्स, नासा सेक्युरिटिज र मेजेस्टिक लेकफ्रन्ट होटल पनि मेलामा सहभागी छन् ।

मेला उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महानगर निरन्तर लागेको बताए । नगरवासीलाई दक्ष बनाएर रोजगारीसँग जोड्न व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । ‘नगरवासीलाई सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने कार्यलाई प्राथमिकता दिइएको छ,’ उनले भने ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं मेला संयोजक दिनेशचन्द्र बाँस्तोलाले मेलाको उद्देश्यबारे जानकारी दिए । उनले जागिर चाहनेलाई एकै ठाउँमा अवसर प्रदान गर्न मेलाले पुलको काम गर्ने बताए । मेलामा सहभागी कम्पनीहरुले आफूलाई आवश्यक पर्ने जनशक्तिको छनोट र अन्तर्वार्ता समेत सोही स्थानमा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया