तालवाराही मन्दिरदेखि दामोदर कुण्डसम्मको धार्मिक पर्यटन प्रवर्ध्दन यात्रा

तालवाराही मन्दिरदेखि दामोदर कुण्डसम्मको धार्मिक पर्यटन प्रवर्ध्दन यात्रा

घिमेठाँटीदेखि दामोदरकुण्डसम्मको यात्रा जोखिमपूर्ण

Damodar-kunda

लाे घेकर दामाेदर कुण्ड गाउँपालिका, मुस्ताङ । पर्यटकीय राजधानी पोखराको फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरदेखि मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिकामा पर्ने दामोदर कुण्डसम्मको धार्मिक पर्यटन प्रवर्ध्दन यात्रा गरिएको छ । पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ कार्यक्रम र नेपाल पर्यटक यातायात व्यवयासी संघ ( एनटिभिए) गण्डकी प्रदेशको संयुक्त आयोजनामा धार्मिक पर्र्यटन प्रवर्ध्दन यात्रा गरिएको हो । तालवाराही मन्दिरबाट गत असार २ गते दामोदरकुण्डतर्फ प्रस्थान गरेको टोली आइतबार राति पोखरा फर्किएको छ ।

टोलीले यात्रा क्रममा बागलुङको कालिका मन्दिर, म्याग्दीको गलेश्वर धाम, मुस्ताङको मुक्तिनाथ मन्दिर, जोमसोममा रहेको धुम्बा ताल, लोमाङथान दरबार, छोसेर गुफा, कोरला नाका लगायत अन्य पर्यटकीय र रमणीयस्थलका साथै मठ, मन्दिर, गुम्बा लगायतको पनि अध्ययन अवलोकन गरेको पर्यटन प्रवर्ध्दन यात्रा कार्यक्रमका संयोजक तथा एनटिभिएका उपाध्यक्ष विकासप्रसाद कँडेलले जानकारी दिए ।

धार्मिक पर्यटन र साहसिक पर्यटनलाई प्रवर्धदनको अध्ययन गर्न यात्रा गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यले बताए । धार्मिक दृष्टिकोणले दामोदर कुण्ड महत्वपूर्ण गन्तव्य भएपनि आधारभूत पूर्वाधारको अभावले यात्रा कठिन र जोमिखयुक्त रहेको उनको भनाइ छ । ‘यो यात्रा पर्यटन प्रवर्ध्दनका साथै अध्ययनको पनि यात्रा हो’, उनले भने,‘ पर्यटन प्रवर्ध्दन गर्न केके पूर्वाधार आवश्यक छ र यात्रा सहज बनाउन केके उपाय अपनाउनु पर्छ त्यसबार रिपोर्ट तयार गरी सम्बन्धित निकायममा बुझाइने छ ।’ समग्रमा यात्र फलदायी भएको उनको भनाइ छ ।

घिमेठाँदीदेखि दामोदरकुण्डसम्मको यात्रा जोखिमपूर्ण

बेनी—जोमसोम—कोरला सडकको चराङबाट यारा, घारा घिमेठाँटीहुँदै दामोदर कुण्ड पुग्न सकिन्छ । लो घेकर दामोदर कुण्ड गाउँपालिकाको घाराबाट करिब एक घण्टाको गाडीको यात्रा र त्यसपछि एक घण्टाको पैदल यात्रापछि घिमेठाँटी पुग्न सकिन्छ । करिब ४ हजार ८ सय मिटरको उचाइ रहेको घिमेठाँटीबाट ५ हजार ३ सय ३२ मिटर अग्लो घिमेडाँडा र ५ हजार ४ सय ६२ मिटर उचाइको भार्साडाँडा छिचोलेर दामोदर कुण्ड पुग्नुपर्ने भएकाले यसलाई साहासिक यात्राका रुपमा लिने गरिएको छ भने तीर्थयात्रीका लागि चाहिने आवश्यक र आधारभूत पूर्वाधार नहुँदा यात्रा  जोखिमपूर्ण बन्ने गरेको छ ।

उकालो बाटोमा घोडामा यात्रा गर्ने सुविधा भएपनि ओरालो बाटोमा हिड्नुपर्ने र घिमेठाँटीबाट दामोदार कुण्ड नपुग्दासम्म बास बस्ने ठाउँ नहुँदा एकै दिनमा दुई ठूला (५ हजार मिटर अग्ला) डाँडा छिचोलेर  जोखिमपूर्ण यात्रा गर्न तीर्थ यात्री बाध्य छन् । यात्रामा क्रममा तीर्थ यात्रीलाई केही समस्या भइहाले उद्धारको अत्यन्त कम सम्भावना छ । घिमेठाँटीबाट उकालो लागेपछि फोनमा सम्पर्क हुँदैन । लेक लागेर  यात्राकै क्रममा कति तीर्थ यात्रीले ज्यानसमेत गुमाएका छन् ।

बाटोको जानकारी, कुन ठाउँ कति उचाइमा छ त्यसको जानकारी लगायत अन्य यात्राीलाई चाहिने सूचना दिने कुनै पनि साइन बोर्ड नभएकाले पनि अझ समस्या भएको एनटिभिएका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद दाहालले बताए । घिमेठाँटी र दामोदर कुण्डमा तीर्थ यात्रीका लागि बस्न र खानको लागि निशुल्क व्यवस्था गरिएको छ । घिमेठाँटीदेखि दामोदर कुण्डसम्म घोडामा यात्रा गर्दा करिब १० घण्टा र हिँडेर जाँदा १६ घण्टासम्म लागेको अनुभव तीर्थ यात्रीको छ । स्थानीयको सक्रियता नहुँदासम्म धार्मिक प्रर्यटन प्रवर्ध्दनले सार्थकता नपाउने दाहालको भनाइ छ । एनटिभिएका अध्यक्ष आचार्यले विशेष गरी लो घेकर दामोदर कुण्ड गाउँपालिकाले आधारभूत पूर्वाधार निर्माणमा ध्यानदिनुपर्ने बताए । कार्यक्रम संयोजक कँडेलले यात्रालाई सफल, बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई आभार यक्त गरेका छन् ।

एनटिभिएका महासचिव श्याम लामिछानले मुक्तिनाथ दर्शनमा आएका भारतीय तीर्थ यात्रीलाई दामोदर कुण्डसम्म पुग्नै पर्दछ भन्ने सन्देश प्रवाह गर्न सके धार्मिक पर्यटन प्रवर्ध्दनमा टेवा पुग्ने बताए । यात्रामा सहभागी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले दामोदर कुण्डसम्म जाने तीर्थालुहरूको संख्या बढिरहेकोले सुरक्षालाई प्राथमिकता राख्नुपर्ने बताए । असार २ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यात्राको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

भर्खरै