काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्ड छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। उनले यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।


मंगलबार (आज) पद बहालीपछि आयोजित कार्यक्रममा उनले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड’ का विगतमा तयार गरिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको पुनरावलोकन गर्दै आवश्यक थप छानबिनको प्रक्रिया अगाडि बढाइने जानकारी दिए। गृहमन्त्री गुरुङका अनुसार घटनासम्बन्धी उपलब्ध प्रतिवेदन र अध्ययन सामग्रीको समीक्षा गरी आवश्यक देखिएमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइनेछ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन विशेष निगरानी संयन्त्र गठन गर्ने निर्णय गरेका छन्। दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पदबहालीका क्रममा उनले गृह मन्त्रालय र सुरक्षा निकायभित्र हुने सम्भावित सूचना चुहावटका घटनामाथि सूक्ष्म निगरानी बढाउने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउने उद्देश्यले सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम (एसआईभीटी) गठन गर्ने निर्णय गरेका हुन्।

गृहमन्त्री गुरुङले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेका छन्। उनले ब्यूरोको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने, प्रक्रियामा रहेका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउने तथा जघन्य, आर्थिक र संगठित अपराधका मुद्दा अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णय गरेका हुन्। लामो समयदेखि विचाराधीन रहेका अनुसन्धानका विषयलाई प्राथमिकताका साथ अघि बढाउने लक्ष्य राखिएको जनाएको छ।