लेखनाथलाई फेरि नगरपालिका बनाउन सर्वदलीय ऐक्यबद्धता

लेखनाथलाई फेरि नगरपालिका बनाउन सर्वदलीय ऐक्यबद्धता

1-Lekhanath

पोखरा । साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आइतबार आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी र स्थानीयवासीले सर्वदलीय ऐक्यबद्धता जनाएका छन् । सहभागीहरूले पोखरा महानगरपालिकामा गरिएको विलयले लेखनाथको पहिचान, प्रशासनिक पहुँच र विकासलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन अघि बढाउने घोषणा गरेका छन् ।

लेखनाथ पुनस्र्थापना पहल समितिको आयोजनामा तालचोकस्थित लेखनाथ पार्टी प्यालेसमा भएको कार्यक्रममा वक्ताहरूले स्थानीय तह पुनःसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा गाभ्ने निर्णय भौगोलिक, प्रशासनिक, आर्थिक र सांस्कृतिक हिसाबले त्रुटिपूर्ण भएको बताएका थिए । उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण स्थानीय नागरिकले सेवा प्रवाहमा सास्ती भोग्नुपरेको, विकास निर्माणमा प्राथमिकता नपाएको र लेखनाथको छुट्टै पहिचान ओझेलमा परेको गुनासो गरे । वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनःसंरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल, जनसंख्या र प्रशासनिक संरचनाबीच ठूलो असन्तुलन देखिएको बताए । उनीहरूका अनुसार महानगरपालिकाको केन्द्रिकृत संरचनाले लेखनाथ क्षेत्रका नागरिकलाई प्रशासनिक पहुँचमा कठिनाइ सिर्जना गरेको छ भने स्थानीय आवश्यकताअनुसार बजेट तथा योजना वितरण हुन सकेको छैन । साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म स्थानीय सरकारलाई सबल र जनतासँग नजिक बनाउनु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको बताए ।

‘लेखनाथलाई पोखरा महानगरपालिकामा विलय गर्नु दूरदृष्टिविहीन निर्णय थियो,’ उनले भने, ‘अहिले त्यसको असर विकास, प्रशासन र पहिचानमा स्पष्ट देखिएको छ ।’ उनले लेखनाथ प्राकृतिक स्रोत, आर्थिक सम्भावना र पर्यटनका दृष्टिले आत्मनिर्भर बन्न सक्ने भूगोल भएको उल्लेख गरे । ‘वेगनास र रूपा ताल, कृषि उत्पादन, पर्यटन र व्यापारिक सम्भावनाले सम्पन्न क्षेत्रलाई विशाल महानगरपालिकाको सीमित वडामा खुम्च्याउनु अन्यायपूर्ण भयो,’ उनले भने, ‘गुमेको अस्तित्व बचाउन, समन्यायिक विकास सुनिश्चित गर्न र जनताको भावना सम्बोधन गर्न पुनः नगरपालिका स्थापना अपरिहार्य छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ता तथा प्रतिनिधि कृष्णराज भुर्तेलले स्थानीय तहको मुख्य उद्देश्य नागरिकलाई सहज सेवा प्रवाह गर्नु भए पनि अहिले नागरिकले झन् बढी सास्ती खेप्नुपरेको बताए । ‘संघीयताको मर्म जनताको नजिक सरकार पु¥याउनु हो,’ उनले भने, ‘तर अत्यधिक ठूलो महानगर संरचनाले त्यो उद्देश्य पूरा गर्न सकेको छैन । लेखनाथ पुनस्र्थापनाको अभियान जनताको अधिकारसँग जोडिएको विषय हो ।’ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले लेखनाथको समृद्धि, पहिचान र विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए । ‘जनताको भावनाभन्दा ठूलो कुनै निर्णय हुन सक्दैन,’ उनले भने, ‘लेखनाथवासीको चाहनालाई सम्मान गर्दै कानुनी र संवैधानिक प्रक्रिया पूरा गरेर पुनस्र्थापनाको अभियान अघि बढाउनुपर्छ ।’ नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले स्थानीय तह पुनःसंरचनाका क्रममा भएका केही निर्णय व्यवहारमा प्रभावकारी हुन नसकेको स्वीकार गरे । उनले संघीयताको भावना अनुसार स्थानीय तह जनउत्तरदायी, पहुँचयुक्त र सन्तुलित हुनुपर्ने बताए । ‘लेखनाथको पहिचान, इतिहास र समृद्धिलाई संरक्षण गर्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका नेता विश्वप्रकाश लामिछानेले लेखनाथ पुनस्र्थापनाको अभियान कुनै एक दल वा समूहको मात्र नभई समग्र लेखनाथवासीको साझा आन्दोलन भएको बताए । ‘घरघरमा सिंहदरबारको अवधारणा व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकार नागरिकको नजिक हुनुपर्छ,’ उनले भने, ‘अभियानलाई अझ सशक्त बनाउन सबै एकजुट हुन आवश्यक छ ।’ कार्यक्रममा सहभागी बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणले लेखनाथको ऐतिहासिक पहिचान, सांस्कृतिक महत्व र विकासको सम्भावना जोगाउन पुनः नगरपालिका स्थापना आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ ले स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने कानुनी व्यवस्था स्पष्ट गरेको उल्लेख गर्दै संवैधानिक प्रक्रियामार्फत पुनस्र्थापनाको बाटो खुला रहेको बताए । कार्यक्रममा पुनस्र्थापना पहल समितिका रामहरि ढुंगानाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव मुराहरि कोइरालाले गरेका थिए ।

प्रतिक्रिया