पोखरा । कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई बिहीबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो ।

गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बुधबार सम्पर्कविहीन भएको र पछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षण गणेश पाण्डेले बताउनुभयो । “राति १ बजेतिर नुहाउन जान्छु भनी तालमा गएको र बेपत्ता भएको थाहा पाएपछि राति नै उद्धार थालिएको थियो,” पाण्डेले भन्नुभयो, “अचेत अवस्थामा उद्धार गरिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।”
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट खटिएको विशेषज्ञ गोताखोर र उद्धार टोलीले अचेत अवस्थामा बिहीबार बिहान पौने ४ बजे युवाको उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए ।