कास्कीको रुपा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

कास्कीको रुपा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

rupa bhawan news photo 2

रुपा । कास्कीको रुपा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बुधबार उक्त भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अधिकारीले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले नवनिर्मित भवनबाट जनताले सहज, छिटो, प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । भवन अनुसार सेवा प्रवाहलाई जनमुखी बनाउन उहाँले जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाभित्र सडक, पुल, खानेपानी, पर्यटन र आयआर्जनका क्षेत्रमा तीव्र रूपमा विकास निर्माणका काम अघि बढिरहेको बताउनुभयो । अध्यक्ष ओझाले आफ्नो दुई कार्यकालको अवधिमा गाउँपालिकाभित्र करिब २ सय ५ किलोमिटर सडक कालोपत्रे गरिएको र थप २४ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको जानकारी दिनुभयो ।

पालिकाले रिङरोड निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै शिवछली सडक र रामदी–मौजा सडकलाई बहुवर्षीय योजनामा समावेश गरी पाँच–पाँच करोड रुपियाँ बजेट सुनिश्चित गरी ठेक्का प्रक्रिया सम्पन्न भएको अध्यक्ष ओझाको भनाइ थियो । ओझाले गाउँपालिकाभित्र विभिन्न स्थानमा पुल निर्माणको काम अघि बढिरहेको र आवश्यक स्थानमा थप पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले आयआर्जनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको समेत बताउनुभयो । बजार केन्द्रित मानसिकता अन्त्य गर्दै गाउँमै रोजगार र आम्दानीको वातावरण सिर्जना गर्न गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । अध्यक्ष ओझाका अनुसार गत वर्ष गाउँपालिकाले नेपालकै ठूलो मौरीपालन कार्यक्रमअन्तर्गत दुई हजार एक सय घार वितरण गरेको थियो । त्यसबाट एक वर्षमै करिब एक लाख लिटर मह उत्पादन भई बिक्री भएको र १ सय ५० भन्दा बढी युवा किसान स्वरोजगार बनेका छन् ।

बुधबार उद्घाटन गरिएको तीनतले भवनमा २२ वटा कार्यकक्ष, एक कार्यपालिका तथा कर्मचारी बैठक कक्ष र एक सभाहलसहित २४ वटा कोठा रहेको इन्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । उक्त भवन ७ करोड ७९ लाख ५४ हजार २ सय ९ रुपियाँमा सम्झौता गरी १० महिनामा निर्माण सम्पन्न गरिएको हो । भवनमा स्तनपान कक्ष, प्राथमिक उपचार कक्ष, तेस्रो तलासम्म पुग्ने लिफ्ट तथा प्रत्येक तलामा अपाङ्गमैत्री शौचालयको व्यवस्था गरिएको छ । आपतकालीन अवस्थाका लागि छुट्टै भर्‍याङसमेत निर्माण गरिएको इञ्जिनियर गौतमले जानकारी दिनुभयो । संघीय सरकारले ३० वर्षका लागि निशुल्क भाडामा उपलब्ध गराएको ९१ रोपनी ११ आना क्षेत्रफलमा भवन निर्माण गरिएको हो ।

पालिकाको भीरचोकस्थित थालभन्ज्याङमा निर्माण गरिएको भवनबाट पालिकाका सबै वडाहरुलाई देख्न सकिन्छ । गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति कास्कीका पूर्वप्रमुख बैनबहादुर अधिकारी क्षेत्री, पालिकाका सूचना अधिकारी लोकनाथ पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

भर्खरै