पोखरा । नयाँ वर्ष २०८३ को अवसर पारेर कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाइहरूले बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, मापसे/लापसे गरी सवारी चलाउने, सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नियन्त्रणका लागि उक्त अप्रेसन सञ्चालन गरेका हुन्।
मिति २०८३ साल वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको अप्रेसनमा पोखराका विभिन्न स्थानबाट उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको कारबाहीको विवरण यसप्रकार छः
- वडा प्रहरी कार्यालय रामबजारसहितको टोलीले पोखरा–११ काहुँडाँडाबाट १० वटा सवारी साधन र ८ जनालाई नियन्त्रणमा लिएको छ।
- जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा–१४ चाउथेबाट ९ वटा सवारी साधन कारबाही गरेको छ।
- वडा प्रहरी कार्यालय बैदाम र बगरको संयुक्त टोलीले पोखरा–१८ मेथलाङबाट ६ वटा सवारी साधन कारबाही गरी छाडेको, ७ वटा सवारी साधन र ५ जनालाई नियन्त्रणमा लिएको छ।
- इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पोखरा–३० बेगनास क्षेत्रबाट ८ वटा सवारी साधन कारबाही गरी छाडेको, लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको १ जना चालकसहित थप ४ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारी साधनमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
कास्की प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि नियमित रूपमा ‘स्वीप अप्रेसन’ जारी राख्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।