काठमाडौं । प्रहरीले चर्चित कलाकार सागर लम्साललाई एक युवतीले लगाएको बलात्कार आरोपपछि पक्राउ गरेको छ । अमेरिका बस्दै आएकी एक युवतीले कलाकारिता संसारमा बले उपनामले चिनिने लम्सालले आफूलाई अमेरिकामा बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौंको बुढानीलकण्ठको कपन बालुवाखानीबाट पक्राउ गरिएको बताए ।
लम्साललाई अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ । यद्यपि पीडितको तर्फबाट जाहेरी भने अहिलेसम्म आइसकेको छैन ।