सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

gurja

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।

“यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्ने योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।”  थप एक किलोमिटर मार्ग खोलेर आगामी एक हप्ताभित्र गुर्जा गाउँसम्मै गाडी पुर्याउने तयारी भएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो । आव २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । हाल गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदलयात्रा गरेर गुर्जा पुग्न सकिन्छ । गत फागुनमा पाल्टनमा पुगेको सडक निर्माणकार्य डोजर बिग्रिएका कारण एक महिनापछि केही दिनअघि सञ्चालन भएको थियो ।

प्रतिक्रिया