गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना

Gorakhkali-rabar-udhyog

काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ। अर्थ मन्त्रालयले सात रुग्ण तथा बन्द सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढाउने क्रममा एसियाली विकास बैंक (एडीबी) मार्फत तयार गरिएको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको हो।

गोरखामा रहेकाे उद्योगको हालकै प्लान्टबाट समेत टायर उत्पादन पुनः सुरु गर्न सकिने प्रतिवेदनले देखाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार प्रतिवेदनमा उद्योग सञ्चालनका तीन विकल्प प्रस्तुत गरिएको छ। पहिलो विकल्पअनुसार उद्योगको पुनर्संरचना गरी ऋण व्यवस्थापन, सेयर रूपान्तरण तथा स्वदेशी–विदेशी वा रणनीतिक साझेदारमार्फत थप लगानी जुटाई आधुनिक ‘र्‍याडियल’ प्रविधिको प्लान्ट स्थापना गरी सञ्चालन गर्न सकिन्छ। साथै, पुरानो प्लान्टबाट तत्काल उत्पादन सुरु गर्दै नयाँ प्रविधिमा रूपान्तरण गर्ने योजना पनि सम्भव रहेको उल्लेख छ।

दोस्रो विकल्पमा उद्योग सञ्चालनका लागि ठूलो पूँजी र पुरानो प्रविधिको चुनौतीलाई ध्यानमा राख्दै प्रयोगमा नरहेको जग्गा तथा भवन भाडामा दिएर आम्दानी गर्ने, आंशिक मौद्रीकरण गर्ने र लगानीसहित सञ्चालन करारमा दिने सुझाव दिइएको छ। तेस्रो विकल्पका रूपमा यदि पुनः सञ्चालन सम्भव नभए सम्पूर्ण सम्पत्ति बिक्री गरी दायित्व फरफारक गर्दै कम्पनी खारेज गर्ने प्रस्ताव गरिएको छ।

एक दशकदेखि बन्द उद्योग गम्भीर वित्तीय संकटमा रहेको अध्ययनले देखाएको छ। उद्योगको खुद सम्पत्ति ४ अर्ब २१ करोड रुपैयाँले ऋणात्मक छ भने समायोजित खुद दायित्व पनि ५६ करोड रुपैयाँले ऋणात्मक रहेको छ। समायोजित कुल दायित्व ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जसमा सरकार र बैंकहरूको ऋण तथा ब्याजको ठूलो हिस्सा छ।

उद्योगका अधिकांश भवन बलिया अवस्थामा रहेकाले मर्मतपछि प्रयोग गर्न सकिने देखिएको छ। स्थिर सम्पत्तिको समायोजित मूल्य करिब ३ अर्ब ७७ करोड रुपैयाँ आँकलन गरिएको छ भने चालु सम्पत्तिको मूल्य ४७ प्रतिशतले घटेको छ। परिसरमा रहेका खयरका रुख बिक्रीबाट करिब ६२ करोड रुपैयाँ आम्दानी सम्भावना पनि देखिएको छ। ब्रान्ड मूल्य २२ करोड २६ लाख रुपैयाँ निर्धारण गरिएको छ।

२०४९ सालदेखि उत्पादन सुरु गरेको उद्योगले कहिल्यै पूर्ण क्षमतामा उत्पादन गर्न सकेन। वार्षिक ८० हजार ट्रक टायर र ४० हजार अन्य टायर उत्पादन क्षमता भए पनि उच्च लागत र कमजोर नगद प्रवाहका कारण २०७२ असारदेखि पूर्ण रूपमा बन्द छ। हाल उत्पादन, बिक्री तथा कर्मचारी खर्च शून्य छ भने केवल सुरक्षा र प्रशासनिक खर्च मात्र भइरहेको छ।

बजार पक्ष भने सकारात्मक देखिएको छ। नेपालमा सवारीसाधनको तीव्र वृद्धि, निर्माण विस्तार र कृषि यान्त्रिकीकरणका कारण टायरको माग बढ्दो छ। हाल वार्षिक करिब ९ लाख टायर आयात भइरहेको छ र बजार वार्षिक ८–१० प्रतिशतले बढ्ने अनुमान छ। भारत, चीन, पाकिस्तान, बंगलादेश र श्रीलंकामा समेत निर्यात सम्भावना रहेको उल्लेख छ।

कच्चा पदार्थका रूपमा आवश्यक प्राकृतिक रबर नेपालमा सीमित उत्पादन हुने भएकाले तत्काल आयातमा निर्भर रहनुपर्ने देखिन्छ। हाल १,२०० टन मात्र उत्पादन हुँदा १० हजार टनभन्दा बढी माग छ। तर, झापा लगायत क्षेत्रका साथै तराई र मध्य पहाडमा ठूलो परिमाणमा रबर खेती विस्तार गर्न सकिने सम्भावना औंल्याइएको छ। समग्रमा, उचित पुनर्संरचना, प्रविधि आधुनिकीकरण र लगानी व्यवस्थापन भए गोरखकाली रबर उद्योग पुनर्जीवित हुन सक्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

प्रतिक्रिया