पोखरा । नेपाल पत्रकार महहासंघको ७१ औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ कास्कीले तीन पत्रकार र एक संस्थालाई सम्मान गरेको छ । अग्रज पत्रकार राजबहादुर गुरुङलाई ‘पोखरा पत्रकारिता सम्मान २०८१’ प्रदान गरिएको थियो भने संस्थागततर्फ सहारा क्लब पोखरा सम्मानित भएको छ । त्यसैगरी, जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट फणिन्द्र अधिकारी (अकिञ्चन) र एकराज गिरी पुरस्कृत भएका छन्। विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् । सम्मान राशि नगद रु.५० हजार ५ सय ५५ , दोषल्ला र सम्मानपत्र रहेको छ । पत्रकार महासंघ कास्कीको संस्थागत विकासमा याेगदान दिएको भन्दै सहारा क्लबलाई महासंघले सम्मान गरेको हाे ।

सम्मान छनौट समितिको संयाेजक अग्रज पत्रकार कुसुमकेशव पराजुली, सदस्यमा पुण्य पौडेल र गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्षा माधव बराल र सचिव भूपाल गुरुङ थिए । जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार प्रतिभा छनाेट समिति संयाेजकमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सदस्यमा पत्रकार रुद्र श्रीस मगर, भिम थापा र पत्रकार महासंघ कास्कीका अध्यक्षा माधव बराल र सचिव भूपाल गुरुङपुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार अधिकारी र गिरीलाई दिने निर्णय गरिएको हो । पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया र सम्मान पत्र रहेको छ । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखा पत्र दैनिक र गिरी सफल न्यूजमा आवद्ध छन् ।
तीन पत्रकार र सहारा क्लबलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कुशुमकेशव पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, जगन्नाथ सिग्देल परिवारका सदस्य शोभाकान्त सिग्देलले माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
कार्यक्रममा बाेल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानून बाधक बनेको अवस्थामा त्यसलाई संशोधन गर्न सकिने स्पष्ट पार्दै कसैले पनि कानून हातमा लिन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा ७१औँ स्थापना दिवसको अवसरमा पोखरामा सोमबार आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्।उनले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ बढेको तर्क गरे । “अहिलेको अवस्थामा पत्रकारिता कमजोर भयो भने सत्ता निरंकुश बन्न सक्छ,” उनले भने, “पत्रकारले ‘वाचडग’को भूमिका अझ सशक्त रूपमा निर्वाह गर्नुपर्छ।” मुख्यमन्त्री पाण्डेले कानून र संविधान परिवर्तन नभएसम्म सरकारले संयमता गुमाउन नहुने बताए।
उनले सरकार बदलाको भावनाबाट प्रेरित भएर अघि बढ्न नहुने चेतावनी दिँदै त्यसो भए स्वतन्त्रता र न्याय दुवै जोखिममा पर्ने उल्लेख गरे । उनका अनुसार न्यायपालिका, पत्रकारिता र नागरिक समाजले आफ्नो जिम्मेवारीबाट विचलित भए लोकतान्त्रिक मूल्यहरू कमजोर हुन सक्छन्। “राज्य बलियो हुँदा निरंकुशताको खतरा बढ्छ, त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य हुन्छ,” उनले जोड दिए। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि पत्रकारमाथि दमन नहुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघ संस्थाको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, अग्रज पत्रकार कुसुमकेशव पराजुली लगाएत बोलेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महासंघले हरेक वर्ष विभिन्न सम्मान र पुरस्कार गरी ८ जनालाई सम्मान गर्दै आएकाे बताए । बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम सञ्चालन सचिव भूपाल गुरुङ र नाए । स्वागत उपाध्यक्ष माधव रेग्मीले गरेका थिए ।