काठमाडाैं । रास्वपाका उच्चतहका नेताको बैठकले प्रधानमन्त्रीको शपथग्रहणका लागि आगामी १३ चैत तय गरेको छ । संघीय संसद् सचिवालयले १२ चैतमा नवनिर्वाचित सांसदको शपथग्रहण तय गरेपछि नेताहरूले १३ चैतमा प्रधानमन्त्रीको शपथ मिति तय गरेका हुन् । रास्वपा अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपाध्यक्षद्वय डिपी अर्याल तथा स्वर्णिम वाग्लेबीच बिहीबार बसे को बैठकले शपथ मिति तय गरेको हो ।

प्रधानमन्त्रीमा वरिष्ठ नेता शाहले शपथ लिने तय भए पनि मन्त्रीको नाम भने टुंगो लाग्न सकेको छैन । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यको शपथग्रहण कार्यक्रम भने १२ चैत दिउँसो २ बजे तय गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदको शपथग्रहणअघि ज्येष्ठ सदस्यको राष्ट्रपतिसमक्ष शपथ गराइने छ ।
निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष बुझाएको निर्वाचन परिणाम राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई पठाउनेबित्तिकै ज्येष्ठ सदस्य पहिचान गरी शपथ व्यवस्था गरिने गिरीले बताए । ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणका लागि तीनजनाको नाम राष्ट्रपति कार्यालय पठाइने र राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथग्रहण गराएसँगै कार्यक्रम अघि बढाइने भएको छ ।