धार्मिक महत्वको लुङबुक गुफा

धार्मिक महत्वको लुङबुक गुफा

gufa

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।

अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरुप हिउँदयाममा पूरै स्वरुप परिवर्तन हुन्छ । अक्सर यो लुङबुक गुफा बर्सेनि मङ्सिरदेखि चैत महिनासम्म हिउँको घुम्टोभित्र लुकेको हुन्छ । अझै भनौ पुस र माघमा गुफा अवलोकन गर्न जाने हो भने लुङबुक गुफाको सबै भागलाई हिउँले ढाकिदिएको हुन्छ । ऐतिहासिक तथा धार्मिक सम्पदाले भरिएको लुङबुक गुफालाई पुस र माघमा विशाल पहाडको उचाइबाट फेदैसम्म सेताम्मे हिउँको बरफका ढिस्का ढिस्काले छपक्कै ढाकिएको हुन्छ ।

तर, जाडोयाममा यहाँ खासै कोही नजाने हुनाले गुफाको वास्तविक स्वरुप र हिउँदयामको मौसममा गुफाको प्राकृतिक सौन्दर्यताबाट धेरैजसो पर्यटक बेखबरजस्तै हुने गर्छन् । लुङबुक गुफा पन्ध्रौँ शताब्दीमा गुरु रिन्पोछे अर्थात् पद्मसम्भवले ध्यान साधना गरेको धार्मिकस्थलका रूपमा लिने गरिन्छ । गुरु पद्मसम्भव त्यसबेला तिब्बत जाने क्रममा यहाँ अवस्थित लुङबुक गुफामा बसेर ध्यान साधना गरेको भन्ने धार्मिक किंवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उहाँले पद्मसम्भवले ध्यान साधना गरेको स्थान लुङबुक गुफालाई यहाँको फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिकस्थलका रूपमा लिने गरेको बताउनुभयो । हिउँदयाममा पूरै हिउँको घुम्टोभित्र लुक्ने लुङबुक अवलोकनका लागि पछिल्लो समय पर्यटक त्यहाँ पुग्ने गरेको पाइएको छ । बर्खायामभन्दा हिउँदयाममा हिउँले ढाकिएको गुफाको सौन्दर्य नियाल्न पर्यटक त्यहाँ पुग्ने गरेका पाइएको छ । लुङबुक गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको गुफाको प्रोफाइल राख्न फोटो खिच्ने उद्देश्यले पनि हिउँदयाममा पर्यटक केही बढी जाने गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

हिउँदयाममा हिउँले ढाकिने लुङबुक गुफा गर्मीयाममा विस्तारै पग्लिएर सामान्य स्वरुपमा रहने वडाध्यक्ष गुरुङको भनाइ छ । लुङबुक गुफाभित्र सानो चट्टान प्वालबाट मुन्टो निहुराएर मुस्किलले प्रवेश गर्न सकिन्छ । हिउँदयाममा हिउँ जमेर बस्ने भएकाले गुफाभित्र पस्न सकिँदैन । हिउँको बरफ पग्लिने समय चैत–वैशाखदेखि कात्तिकसम्म गुफा प्रवेश गर्न सकिन्छ ।

प्रतिक्रिया