काठमाडौं । धादिङ बस दुर्घटना छानबिन कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाइएको छ । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि सरकारले सो घटनाको अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।

कार्यदलले घटना के, कसरी र कसको लापरबाही वा कमजोरीले भएको देखिन्छ एवं घटनामा ज्यान गुमाएका यात्रुहरूका परिवारलाई के–कस्तो राहत उपलब्ध गराउन सकिन्छ भन्नने राय दिएको छ । त्यसैगरी आगामी दिनमा यस्ता घटना हुन नदिन विभिन्न निकायले चाल्नुपर्ने कदमहरूलगायत विषयमा अध्ययन गरेर सरकारलाई राय दिएको छ ।
कार्यदलले सवारी चालकले कुनै कारणबस सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्न गई दुर्घटना भएको नित्कर्ष निकालेको छ । चालक थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलन दुर्घटनाको कारण भएको उल्लेख गरेको छ । उक्त कार्यदलले तत्काल सार्वजनिक सवारीचालक थकान व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, रात्रिकालीन बस सञ्चालनमा चालकको अधिकतम कार्य समय र अनिवार्य विश्रामको व्यवस्था लागू गर्नुपर्ने र सार्वजनिक सवारीमा अनिवार्य डिजिटल निगरानी प्रविधि लागू गर्नुपर्ने राय दिएको छ ।
सहसचिव तिवारीको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारी, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत खनियाँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सचिव किरणकुमार खड्का, सडक विभागका सिडिई राकेश महर्जन, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव र गृह मन्त्रालयका उपसचिव ब्रतराज पौडेल सदस्यसचिव रहेका थिए ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले कार्यदलले बुझाएको प्रतिवेदनलाई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । धादिङमा भएको उक्त बस दुर्घटनामा परेर १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका थिए ।