लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

mustang

मुस्ताङ ।  माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो ।

माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो ।

आव २०७८/०७९ मा त्यहाँ आधारभूत अस्पताल भवन निर्माण सुरु गरिएकोमा गतवर्षको फागुन महिनामा निर्माण सम्पन्न भएको थियो । दुई वर्षको सम्झौता अवधि रहेको उक्त आधारभूत अस्पताल भवन निर्माण चलिरहँदा कोभिड माहामारीका कारण एक वर्षपछि ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न गरिएको थियो ।

सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न भएको लोमान्थाङस्थित आधारभूत अस्पताल भवन लोमान्थाङ बजारदेखि तल करिव आधा घण्टाको दूरीमा पर्दछ । एक वर्षअघि निर्माण सम्पन्न गरिएको उक्त आधारभूत अस्पताल भवनबाट विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने गरी शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवाससहितको भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया