डिल्लीबजार कारागारबाट रिहा भए पूर्व सांसद ‘दिपक मनाङे’

डिल्लीबजार कारागारबाट रिहा भए पूर्व सांसद ‘दिपक मनाङे’

dipak

पोखरा । ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतले तोकेको कैद सजाय पूरा गरेपछि उनलाई कारागार प्रशासनले मुक्त गरेको हो।

उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जसलाई सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते सदर गरेको थियो। त्यसपछि कात्तिक २७ गते पक्राउ परेका गुरुङले बाँकी कैद सजाय भुक्तान गरेका हुन्। यसअघि उनी यही मुद्दामा २ वर्ष ८ महिना जेल बसिसकेका थिए भने पछिल्लो पटक बाँकी १ वर्ष ४ महिना सजाय पूरा गरेका हुन्। कारागार नियमावलीअनुसार उनले २० प्रतिशत कैद छुटको सुविधा पनि पाएका थिए।

यो मुद्दा २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जमा भएको घटनासँग सम्बन्धित हो। उक्त घटनामा गुरुङको समूहले ‘चक्रे मिलन’ भनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गर्दा उनको बायाँ हात गम्भीर रूपमा घाइते भएको भन्दै उजुरी परेको थियो। मुद्दामा गुरुङले आफू घटनास्थलमा नभई वीरगञ्जमा उपचार गराइरहेको दाबी गरे पनि अदालतले उक्त दाबी स्वीकार नगरी दोषी ठहर गरेको थियो। यसअघि उनी मुद्दा चलिरहेकै अवस्थामा मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित भई मन्त्रीसमेत बनेका थिए। तर सर्वोच्च अदालतले अन्तिम फैसला सदर गरेपछि उनलाई पुनः जेल पठाइएको थियो। अहिले कैद सजाय पूरा गरेसँगै उनी जेलमुक्त भएका छन्।

प्रतिक्रिया