मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङको सबैभन्दा दुर्गम बस्ती साङ्ता जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको छ । मुस्ताङ-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने यो बाटो अत्यधिक हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपािलका वडा नम्बर ५ मा पर्ने साङ्ता मतदान केन्द्रसम्म सवारी साधन र निर्वाचन सामग्री पुर्याउन मङ्गलबारदेखि हिउँ हटाउने कार्य सुरु गरिएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको ‘कान्छो गाउँ’ मानिन्छ । यहाँको हिमाली आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, जुन जिल्ला सदरमुकाम जोमसोमबाट करिब ४० किलोमिटरको दूरीमा छ ।
यस केन्द्रमा जम्मा ३९ जना मतदाता रहेका छन् । भौगोलिक रूपमा अत्यन्तै विकट यो गाउँ अहिले झन्डै मानवविहीन जस्तै छ । जाडो छल्नका लागि यहाँका १३ घरधुरीका बासिन्दा मङ्सिर अगावै जोमसोम, पोखरा र काठमाडौँतिर झरिसकेका छन् । गाउँमा अहिले केही गोठालाहरू बाहेक अरू कोही छैनन्, र सबै घरहरूमा ताल्चा मारिएको छ । सामान्यतया चैत–वैशाखमा मात्रै गाउँ फर्कने यहाँका स्थानीयहरू यसपटक निर्वाचनका कारण फागुन २१ अगावै गाउँ पुग्नुपर्ने बाध्यतामा छन् । सडक अवरुद्ध भएकै कारण केही दिनअघि जिल्ला सुरक्षा समितिको टोली समेत मतदान केन्द्रको अनुगमन गर्न नसकी बीच बाटोबाटै फर्किएको थियो ।
मुस्ताङका अन्य अधिकांश मतदान केन्द्रहरूको स्थलगत अनुगमन सकिए पनि साङ्ताको भौगोलिक विकटता र हिउँका कारण तयारीमा चुनौती थपिएको छ । तर, निर्वाचन आयोग र स्थानीय प्रशासनले सडक खुलाएर मतदानको वातावरण बनाउन युद्धस्तरमा काम अगाडि बढाएका छन् । यस कार्यले थोरै सङ्ख्यामा रहेका मतदाताको पनि मताधिकार सुनिश्चित हुने विश्वास लिइएको छ ।