कास्कीका पत्रकारको लागि आयाेजित साइबर सुरक्षा तालिम सकियाे

कास्कीका पत्रकारको लागि आयाेजित साइबर सुरक्षा तालिम सकियाे

fnj kaski
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयम्लाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउनुभयो ।
सहभागीको तर्फबाट अनुभव सुनाउदै पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिमले साइबर सुरक्षा अपनाउनका लागि तालिम प्रभावकारी भएको बताउनुभयो । आगामी दिनमा प्रयोगात्मक तबरले तालिम सञ्चालन गर्न उहाँहरुले सुझाव समेत दिनु भयो । साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंले विभिन्न साइबरजन्य हमलाका उदाहरण दिदै इन्टरनेमका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहँुच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिनुभयो ।
तिन दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थ, बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शीवा थापाले सहजिकरण गर्नु भएको थियो । तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७५ जना पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन सहसचिब मधु अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया