पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जना महिलालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. १८ बस्ने ३१ वर्षीया नरकुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्त माया पाइजा रहेका छन् । त्यस क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । खानतलासीका क्रममा उनीहरूको साथबाट इन्जेक्सनका रूपमा प्रयोग गरिने डाईजेपाम २२४ एम्पुल, फेनारगन २२४ एम्पुल र ब्रुफिन २२४ एम्पुल गरी जम्मा ६७२ एम्पुल लागुऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषधका साथै प्रहरीले उनीहरूको साथबाट नगद रु ८,५००।– (आठ हजार पाँच सय) र ३ थान मोबाइल फोन समेत बरामद गरेको छ ।पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद गरी उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।