पोखरा–५ पर्स्याङमा सन्तानेश्वर महादेव मन्दिरको १ करोड ६५ लाखमा पुनर्निर्माण गरिने

पोखरा–५ पर्स्याङमा सन्तानेश्वर महादेव मन्दिरको १ करोड ६५ लाखमा पुनर्निर्माण गरिने

wada 5

पोखरा । पोखरा महानगरपालिका–५ पर्स्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर को पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ। महाशिवरात्रिको अवसर पारेर आयोजित कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद बराल ले मन्दिर पुनर्निर्माणको औपचारिक शुभारम्भ गर्नुभयो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले प्रस्याङ पार्क क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन गुरुयोजना तयार गरिएको जानकारी दिनुभयो। पार्क परिसरमै रहेको सन्तानेश्वर महादेव मन्दिरलाई वडा नं. ५ को प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो। अध्यक्ष बरालका अनुसार पार्कसहितको डिपिआर ८ करोडको बनेपनि  मन्दिर मात्रा १ करोड ६५ लाख पुनर्निर्माण  गरिने छ ।

मन्दिर पुनर्निर्माण महानगरपालिकाको योजना तथा स्थानीयवासीको सहयोगमा अघि बढाइने छ। प्रचार–प्रसार संयोजक लक्ष्मण बरालका अनुसार पुनर्निर्माणका लागि १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। शिलान्यासकै अवसरमा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको परिवारले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिइएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा तोकिएको समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य समितिले लिएको छ।

यस वर्ष मन्दिर परिसरमा महाशिवरात्रि महोत्सवसमेत सञ्चालन गरिएको छ। पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा तथा शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतबन्ध, साँझको आरती, भजन–कीर्तनलगायत विविध कार्यक्रम सम्पन्न भएका छन्। संयोजक सन्तोष पराजुलीका अनुसार अघिल्ला वर्षहरूमा स्वतःस्फूर्त रूपमा कार्यक्रम हुँदै आएकोमा यसपटक विशेष व्यवस्थापनसहित महोत्सव आयोजना गरिएको हो।

करिब १ सय २५ वर्ष पुरानो मानिने सन्तानेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक मात्र नभई पर्यटनसँग समेत जोडिँदै आएको छ। शिवरात्रि विशेष कार्यक्रमअन्तर्गत १०८ शिवलिङ्गमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चूडाकर्म, निःशुल्क रक्त परीक्षण, सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरिएको थियो। शिवरात्रि विशेष कार्यक्रमलाई फिस्टेल आइभिएस एन्ड फर्टिलिटी सेन्टर ले सहयोग गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया