पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा लिगमा बङ्गालादेशसँग व्यहोरेको हारको बदला लिँदै भारतले उपाधि जितेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतले बङ्गालादेशलाई ४—० गोलले पराजित गरी साफ ट्रफी उचालेको छ । लिगमा भारत बङ्गालादेशसँग २—० पराजित भएको थियो ।

शनिबारको खेलमा भारतका जुलानले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । प्लेयर अफ दी म्याच घोषित उहाँले प्रतिका बरमानले मिलाइदिएको पासलाई पोस्टमा छिराउनु भएको थियो । खेलको ६३ औँ मिनेटमा एलिजावेद लाक्राले अर्को गोल गरी अग्रतालाई दोब्बर पार्नु भयो । बङ्गालादेशका टिम कप्तान अर्पिता विश्वासले भारतका खेलाडी अल्भादेवीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमार्फत् उहाँले गोल गर्नुभएको हो ।
बङ्गालादेशका किपर अरजान बेगमले बललाई समात्न खोज्दा फुत्केपछि त्यसको फाइदा उठाउँदै ६८औँ मिनेटमा भारतकी पर्ल फर्नान्डेजले अर्को गोल गरेर जितलाई सुनिश्चित गर्नुभयो । खेलको ८३ औँ मिनेटमा अल्भादेवीले मिलाइदिएको पासमा अन्विता रघुरमनले गोल गरेर खेललाई ४—० पुर्याउनु भयो । भारतले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न चुक्यो भने बङ्गालादेशले शनिबारको खेलमा एक/दुई वटा मात्र राम्रा मुभ बनाएपनि गोलमा परिणत गर्न सकेन ।
खेलमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बङ्गालादेका अल्पी अख्तर बन्दा उत्कृष्ट किपर भारतका मुन्नी र अनुशासित टिम भारत बन्यो । बङ्गालादेशका अल्पी अख्तरले खल अवधिमा ७ गोल गर्नुभएको थियो । नेपाल, भारत, बङ्गालादेश र भुटान सहभागी खेल माघ १७ देखि सुरु भएको थियो ।