टाइगर कप भलिबलको उपाधि गण्डकीलाई

टाइगर कप भलिबलको उपाधि गण्डकीलाई

tiger cup Gandaki

पोखरा ।  छैँटौं टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा जित निकाल्दै टाइगर कप उचालेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जितको थियो । उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ रुपियाँ हात पा¥यो । उपविजेता बनेको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपियाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपियाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २६ हजार ६ सय ६६ रुपियाँ प्राप्त गर्नुभयो । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बन्नुभयो । उहाँहरुले जनही ११ हजार १ सय ११ रुपियाँ हात पार्नुभयो ।

महिलातर्फको उपाधि भने न्यू डायमन्ड स्पोट्स क्लबले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता र थाइल्यान्ड क्विन्स तेस्रो बनेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

प्रतिक्रिया