निर्वाचन प्रहरीको संख्या नपुगेपछि छुटेका परीक्षार्थीलाई पुनः बोलाइयो,

निर्वाचन प्रहरीको संख्या नपुगेपछि छुटेका परीक्षार्थीलाई पुनः बोलाइयो,

125 arested kaski police

पोखरा । कास्कीमा प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको संख्या अनुसार निर्वाचन प्रहरी फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले यसअघि छनोट प्रक्रियामा छुटेका परीक्षार्थीहरूलाई पुनः अवसर दिएको छ । जिल्लामा २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गर्ने लक्ष्य लिइएको भए पनि अहिलेसम्म चाहिए जति जनशक्ति छनोट हुन नसकेपछि प्रशासनले परीक्षामा उपस्थित हुन नसकेकाहरूलाई पुनः सहभागी हुन आह्वान गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले एक सूचना जारी गर्दै माघ ४ गतेको परीक्षा तालिकामा उपस्थित हुन नसकेका परीक्षार्थीहरूलाई माघ ९ गते सहभागी हुन भनेका छन् । सूचना अनुसार छुटेका परीक्षार्थीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण (वियरिङ चेक) र शारीरिक तन्दुरुस्ती परीक्षा माघ ९ गते बिहान ७:०० बजेदेखि सञ्चालन गरिने छ । यो प्रक्रिया पुरा गरे लगत्तै सोही दिन दिउँसो १२:०० बजे सम्पूर्ण परीक्षार्थीहरूको लिखित परीक्षा समेत लिइने छ ।

प्रशासनका अनुसार लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूको अन्तर्वार्ता माघ ११ गते बिहान ८:०० बजेदेखि सुरु हुने छ । ‘निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२’ बमोजिम यो प्रक्रिया अगाडि बढाइएको बरालले जानकारी दिए । फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन कास्कीमा ठुलो संख्यामा निर्वाचन प्रहरीको आवश्यकता परेको हो ।

प्रतिक्रिया