म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७, झिनडाँडामा गत माघ ३ गते राति एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान् पक्राउ परेका छन् ।

घरबाट शाैचालय जान निस्कनु भएकी २० वर्षीया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा श्रीमान पोखरा महानगरपालिका-२३, ठुलाखेतका ३२ वर्षीय रमेश कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनु भयो ।

घटनामा विभिन्न अनुसन्धान विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा निजकै श्रीमानको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखराको बिरौटाबाट कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनु भयो । पक्राउ परेका कामीले श्रीमतीको हत्या गर्दा प्रयोग गरेको रगत जस्तो रातो दाग लागेको कम्ब्याट, रेड्मी मोबाइल फोन तथा एनसेल र एनटिसीका सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।

गत माघ ३ गते राति करिब ११ बजेको समयमा शौचालय गएकी पुनमाया विकलाई घरबाट बाहिर निस्कने क्रममा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा उपचारका लागि प्रदेश अस्पताल म्याग्दी, बेनीमा ल्याइएकोमा उपचारकै क्रममा सोही राति करिब २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।