पोखरा महोत्सवमा भाेलिदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, आज प्रकाश सपूत आउने

पोखरा महोत्सवमा भाेलिदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, आज प्रकाश सपूत आउने

dance news photo pokhara mahotsav2082

पोखरा । पोखराको अमरसिंह मैदानमा सञ्चालन भइरहेको १४ औँ पोखरा महोत्सव अन्तर्गत विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता माघ ४ गतेदेखि  हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने यस प्रतियोगितामा पोखराका विभिन्न विद्यालयहरूले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको पहिलो दिन माघ ४ गते पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनले नृत्य प्रस्तुत गर्नेछन् । माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुलबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

यस्तै माघ ७ गते कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुल प्रतियोगितामा उत्रनेछन् । माघ ८ गते अमरसिंह मावि (नेपाली), कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समूहबाट उत्कृष्ट ५ विद्यालय फाइनल चरणमा प्रवेश गर्नेछन् । फाइनलमा पुगेका विद्यालयहरूको नाम माघ ९ गते सार्वजनिक गरिने प्रतियोगिताका सह–संयोजक विष्णु कुमार गुरुङले बताए ।

फाइनल प्रतिस्पर्धा माघ १० गते आयोजना गरिनेछ । सोही दिन पुरस्कार वितरणसमेत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने दुई समूहले क्रमशः नगद ५० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकहरूको चाप बढ्दो क्रममा रहेको महोत्सव सचिवालय संयोजक शान्त बहादुर थापाले बताए । दर्शक संख्या बढेसँगै महोत्सवस्थलमा रहेका स्टलहरूको कारोबारसमेत उत्साहजनक देखिएको छ । अर्थ तथा स्टल व्यवस्थापन संयोजक जयराम आचार्यका अनुसार लत्ताकपडा र घरायसी सामग्रीको व्यापार विशेष रूपमा बढिरहेको छ । यसैबीच, शुक्रबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्‍यो । पंगेनीसँगै कलाकारहरू चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, नबिना सुवेदी र अर्चना चापागाईले प्रस्तुती दिएका थिए । हाँस्य–व्यंग्यतर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको कार्यक्रमले दर्शकलाई हँसाएको थियो ।

साँझको लाइभ कन्सर्टमा पोखरेली ब्याण्ड ‘डी मर्चा’ले प्रस्तुती दिएको थियो । महोत्सवको पाँचौँ दिन माघ ३ गते शनिबार गायक प्रकाश सपुतको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टमा अनुप्रस्थाको प्रस्तुती हुने महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

प्रतिक्रिया

भर्खरै