निर्भवाचन भन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

निर्भवाचन भन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

olideuba-

काठमाडौँ । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्राथमिकता दिइरहेका छन् । उनीहरूले एकातिर प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षणका लागि अदालत पुगेका छन् भने अर्कातिर पुनःस्थापनाको एजेन्डामा जेन–जी प्रतिनिधिहरूलाई समेत विश्वासमा लिने प्रयास गरिरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन भइहाले भाग लिन दुवै दलले आन्तरिक तयारी पनि गरिरहेका छन् । कांग्रेस र एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने प्रतिनिधिसभामा समानुपातिक प्रणालीतर्फका उम्मेदवार छनोटका लागि प्रक्रिया पनि थालिसकेका छन् । दुइ नेताबिच पुन:स्थापनापछि प्रतिनिधिसभालाई ६ महिना सञ्चालन गर्ने, सर्वपक्षीय सहमतिमा सरकार निर्माण गर्ने, प्रधानमन्त्रीमा सांसदलाई पहिलो प्राथमिकता, सहमति नभए संविधान संशोधन गरेर वर्तमान वा पूर्वप्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने सहमत भएको छ।

एमालेले समानुपातिक उम्मेदवारका लागि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा तीन जनाको नाम पठाउन जिल्ला कमिटीहरूलाई परिपत्र गरेको छ । शुक्रबारसम्म जिल्लाबाट नाम आइसक्ने र १३ पुससम्म समानुपातिक उम्मेदवार छनोट गरिसक्ने एमालेले जनाएको छ । कांग्रेसले दुई साताअघि नै समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको छनोट प्रक्रिया थालेको थियो । आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने मिति १३ र १४ पुस तोकिएको छ । प्रत्यक्षतर्फको मनोनयन ६ माघमा हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत असोजदेखि नै प्रतिनिधिसभा पुनःस्थापनाको आवाज उठाउँदै आएका छन् । एमालेले पार्टीबाट निर्णय गरेर प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित १० मंसिरमा सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कांग्रेसका तर्फबाट निवर्तमान प्रमुख सचेतक, सचेतकसहित आठ जनाले पनि पुनःस्थापनाका लागि २३ मंसिरमा सर्वोच्चमा निवेदन दिएका थिए ।

संसद् पुनःस्थापनाका पक्षमा पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएपछि कांग्रेसका ५७ निवर्तमान सांसदको हस्ताक्षरसहित मंगलबार पूरक निवेदन दायर गरिएको छ । त्यसमा जनमत र जसपाका एक–एक र एक स्वतन्त्र निवर्तमान सांसदको पनि हस्ताक्षर छ । निवर्तमान सांसदहरू रिट लिएर अदालत गए पनि कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाका विषयमा फरक–फरक विचार छन् । कांग्रेसको संस्थागत निर्णय निर्वाचनमा जानेछ ।

एमाले अध्यक्ष ओलीसँगको बाक्लो भेटघाटपछि कांग्रेस सभापति देउवाले पुनःस्थापनाको पक्षमा नै सक्रियता बढाइरहेको निकटस्थ नेताहरू बताउँछन् । केही समयअघिसम्म पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्न नमानेका संस्थापन पक्ष र नेता शेखर कोइराला पक्षका निवर्तमान सांसदलाई समेत बोलाएर उनले अदालतमा पेस गर्ने प्रयोजनका लागि हस्ताक्षर गर्न निर्देशन दिएका थिए ।

नेता कोइराला आफैंले हस्ताक्षर नगरे पनि उनी पक्षका निवर्तमान सांसदले भने हस्ताक्षर गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।नेताहरूका अनुसार पुनःस्थापनाका विषयमा देउवा–ओलीबीच पटक–पटक भएका संवादमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणाबाहेक कांग्रेसबाट अरू नेतालाई सहभागी गराइएको छैन ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया