आहारारा पोखरा गोल्ड कपको रजत वर्ष भव्य बनाउने तयारी

आहारारा पोखरा गोल्ड कपको रजत वर्ष भव्य बनाउने तयारी

aaha rara gold cup photo

पोखरा । पोखरामा वर्षेनी हुुने आहारारा पोखरा गोल्डको २५ औँ संस्करण आगामी माघको आन्तिम साताबाट हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा खेल हुनेछ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त तालिकामा खेल सञ्चालनको अनुमति दिएको जानकारी दिनुभयो ।

गोल्ड कपमा ए डिभिजन क्लब, विभागीय, विदेशी टिमसहित १२ टिमको सहभागिता रहनेछ ।हिमश्री फुड्सको मुख्य प्रायोजनामा हुँदै आएको प्रतियोगिता रजत वर्षमा प्रवेश गरेको हो । आहारारा गोल्ड कपको २५ औं अर्थात रजत वर्षलाई भव्य बनाउने गरी तयारी थालिएको अध्यक्ष थापाको भनाइ छ । २०५८ सालमा क्याराभान गोल्ड कप आयोजना गरेको सहारा क्लबले २०५९ सालदेखि आरारारा गोल्ड कप गर्दै आएको छ । प्रतियोगिताबाट बचेको रकम सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सञ्चालनमा खर्च गर्दै आएको छ । उक्त एकेडेमीमा बाबुआमा गुमाएका, विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकलाई भर्ना गरी शिक्षा, पालनपोषणको साथै फुटबल प्रशिक्षण दिने गरिएको छ ।

यसैबीच एकेडेमीको सहयोगार्थ क्लबले गत कात्तिक १४ गते गरेको सहारा च्यारिटी डिनर नाइटमा १७ लाख ४१ हजार बचत भएको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । ३० जना बालक एकेडेमीमा आश्रित छन् भने एकेडेमीमा गत वर्ष ४२ लाख रुपियाँ खर्च भएको अध्यक्ष थापाले बताउनुभयो । गत वर्ष भएको २४ औँ आहारारा गोल्ड कपको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको थियो भने नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।

प्रतिक्रिया