पोखरा। नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन विजया दशमी । आज मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री)ले जानकारी दिए । विजयादशमी आफैंमा शुभ दिन हो । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ,’ डा. कोइराला भन्छन्, ‘तर राज्य सञ्चालकहरुले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको हो ।’
समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिषसहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईँलाई ?
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ ।
टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ:
ॐ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।
यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।