कास्की र तनहुँबाट भागेका छ जना गाेरखामा पक्राउ

कास्की र तनहुँबाट भागेका छ जना गाेरखामा पक्राउ

kaski

गोरखा । तनहुँ र कास्की कारागारबाट भागेका छजनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।   कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका– ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई नियन्त्रणमा लिएको बताए ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको उनले जानकारी दिए । चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारैजनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।

यस्तै, कास्की कारागारबाट भागेका भीमसेन थापा गाउँपालिका—१ मसेलका राजेश विश्व सुनार पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा विसं २०७५ असारदेखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो ।   यस्तै, तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि प्रहरीले शुक्रबार गोरखाबाटै पक्राउ गरेको छ । चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए ।

प्रतिक्रिया