हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङ पोखरामा सम्मानित

हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङ पोखरामा सम्मानित

pcci

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नी हङकङ प्रतिनिधि तथा हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङको स्वागत र सम्मान गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यले अरुणालाई बधाईसहित स्वागत गरेका हुन् ।

अरुणाले हङकङमा रहेर त्यहाँका उद्योग वाणिज्य संघहरुमा आयोजना हुने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै आएकी छन् । हङकङ सरकारले उनलाई सन् २०२४ मा नै याउचिम मोङ जिल्लाको प्रतिनिधित्व गर्ने गरी परिषद् सदस्यमा नियुक्त गरेको थियो । नेपाली तथा जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुन् ।

उनको कार्यकाल सन् २०२७ सम्म छ । पोखरा उद्योग वाणिज्य संघको नेपाल च्याम्बर अफ कमर्स हङकङसँग भगिनी सम्बन्ध छ । पोउवा संघ र तथा नेपाल च्याम्बर अफ कमर्स हङकङबीच सन् २०१८ नै आपसी सहयोग आदान–प्रदानसम्बन्धी समझदारी भएको थियो । नेपाल च्याम्बर हङकङको २०८० साल असार १३ गते सम्पन्न १५ औं महाधिवेशनमा चाहिँ औपचारिक रुपले भगिनी सम्बन्ध स्थापना भएको थियो ।

त्यहाँ हुने कार्यक्रममा पनि पोउवा संघको तर्फबाट अरुणाको प्रतिनिधित्व रहँदै आएको छ । कार्यक्रममा पोउवा संघ अध्यक्ष पवनकुमार प्रजापतिले पोखरामा विदेशी लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि अरुणाबाट प्राप्त सहयोगको प्रशंसा गरे । उनले पोखरा भ्रमण वर्ष २०२५ लाई हङकङमा प्रचार गर्नका लागि अरुणालाई आग्रह पनि गरे ।

नेपाली चेलीले हङकङको डिस्ट्रिक्ट काउन्सिलर पद प्राप्त गर्नु संघको लागि गौरवको विषय भएको उनको भनाइ छ । सम्मान ग्रहणपछि अरुणाले आफूले हङकङमा रहेका नेपालीसहित अल्पसंख्यकको अधिकारको पक्षमा निरन्तर काम गर्दै आएको र नेपालको प्रचार गर्ने मामिलामा पनि कुनै कसर बाँकी नराखेको बताइन् । केही वर्ष पहिलासम्म हङकङ जाँदा नेपालीले एयरपोर्टमै भिसा पाउने अवस्था रहेको स्मरण गर्दै उनले भनिन्, ‘अहिले भिसा पाउनै समय लाग्ने भएको छ, भिसा प्रक्रिया सरलीकरणका लागि पनि सक्दो प्रयत्न गरेको छु ।’

हङकङमा रहेका धनाढ्य उद्योगपतिहरुले लगानीको नयाँ क्षेत्र खोजिरहेको बताउँदै उनले त्यसका लागि नेपाल सरकारले सम्भावनाको क्षेत्रसहितको जानकारी दिनुपर्ने बताइन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले अरुणाको उपलब्धिले नेपालीको शिर उच्च बनाएको बताउँदै नेपाल प्रवद्र्धनका निम्ति उनीबाट सरकारले नै सहयोग लिनुपर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले पनि बोलेका थिए ।

प्रतिक्रिया