पोखरामा प्रचण्ड कप भलिबल हुने

पोखरामा प्रचण्ड कप भलिबल हुने

aa-099

नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।

अखिल नेपाल खेलकुद महासङ्घको सहआयोजनामा हुने प्रतियोगिता जेठ २७ देखि ३१ सम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका छ प्रमुख महिला टिमको सहभागिता रहने अखिल नेपाल खेलकुद महासङ्घ अध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।

प्रचण्ड कपमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने पक्का भएको छ ।

राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख र उपविजेताले तीन लाख रुपियाँ पाउने छन् । तेस्रो हुने टिमले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने नेसनल स्पोर्ट्स एकेडेमी अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपियाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

सहभागी टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ । एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको सन्दर्भमा यसको विकासका लागि कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भलिबल खेललाई व्यावसायिक उचाइमा पुर्‍याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौँ । यो प्रतियोगिता महिला भलिबल खेलाडीको क्षमताको पहिचान र प्रवद्र्धनमा कोसेढुंगा बन्ने विश्वास लिएका छौँ ।’

प्रतिक्रिया