पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिबार छलफल कार्यक्रमको आयोजना गरी दुई वर्षका लागि वडा विकासमा सम्भावनाका आधारहरु खोजेको छ । विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेला पारी वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास सम्भावनाको आधारहरु खोजेको हो ।
तीन वर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अबका दुई वर्ष शिक्षा, स्वास्थ्य र रोजगार प्रवद्र्धन हुने योजनालाई प्राथमिकीकरण गर्न छलफल आयोजना गरेको वडा अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो । कार्यक्रममा पूर्वकानुन मन्त्री यज्ञबहादुर थापाले वडा नं. २६ मा जनताले महसुस गर्नेगरी विकास भएको उल्लेख गर्दै, रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने कार्यक्रमहरु समावेश गर्न सुझाव दिनु भयो । पूर्वमन्त्री थापाले सरकारका मन्त्रालय, विभाग र विभिन्न निकायमा कार्यरत कर्मचारीहरुले पनि आफू बसोबास गरेको वडा र भूगोलको विकासका लागि योगदान दिन आग्रह गर्नु भयो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधिस डा. आनन्दमोहन भट्टराईले विकास निर्माणसँगै पर्यावरणीय सन्तुलनलाई ध्यान दिन जोड दिनु भयो । उहाँले संविधानले नै तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै, संघीय र प्रदेश सरकार सधै जोखिममा रहने तर स्थानीय सरकार कहिल्यै भंग नहुने स्पष्ट पार्नु भयो । उहाँले प्रकृतिका उपहारलाई प्रवद्र्धन गरेर पर्यटन विकासमा जोड दिने गरी खाका तयार गर्न आग्रह गर्नु भयो । पूर्व न्यायाधिस भट्टराईले पहाडी क्षेत्रका बाँझो जमिनलाई उपयोग गर्ने नीति ल्याउन र बाँदर नियन्त्रणमा जोड दिन आग्रह गर्नु भयो ।
गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारीले भौतिक निर्माणले मात्र बिकासको मापन नहुने उल्लेख गर्दै, उत्पादनलाई जोड्ने खालका कार्यक्रम समावेश गर्न सुझाव दिनु भयो । प्रादेशीक स्वास्थ्य तालिम केन्द्रका प्रमुख डा. विनोद विन्दु शर्माले गण्डकी आर्यूवेद अस्पतालको स्तरोन्नती सँगै वडा नंं २६ मा संघीय सरकारले एक सय शैयाको अस्पताल निर्माणका लागि योजना अगाडी बढाएको जानकारी दिनु भयो ।सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सूर्यप्रसाद तिमिल्सेनाले सरसफाइका काममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सशस्त्र प्रहरी बलले शिक्षालय सञ्चालनका लागि जग्गा खोजिरहेको उल्लेख गर्दै, न्युन विद्यार्थी भएका भवनलाई प्रयोग गर्न दिन आग्रह गर्नु भयो । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक र महिला लक्षित कार्यक्रममा समन्वय गर्न सकिने बताउनु भयो ।
लायन्स क्लव अफ इन्टरनेसनल ३२५ आईका गर्भनर विनोद ढुंगानाले वडा नंं २६ को लक्ष्मी माविको सहकार्यमा पुस्तकालय निर्माणको काम अगाडि बढेको उल्लेख गर्दै, अन्य योजनामा समेत सहकार्य गर्न सकिने बताउनु भयो ।वडा अध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्ष चलिरहँदा झण्डै ७५ करोड रुपैंया विकास निर्माणका लागि खर्च भएको तथ्यांक प्रस्तुत गर्नु भयो । उहाँले जो जहाँ जुन निकायमा छ त्यहीबाट वडा विकासका लागि सहयोग गर्न आग्रह गर्नु भयो । अध्यक्ष थापाले कार्यक्रममा प्राप्त विचारलाई पूँजिको रुपमा लिएको उल्लेख गर्दै, त्यसैलाई आधार बनाएर आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनुभयो । उहाँले आगामी वर्षको बजेटलाई शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनमा टेवा पुग्नेगरी विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष थापाले विगतमा गरेका सार्वजनिक सुनुवाई, योजना तर्जुमा, वडा अनुगमनका सबै कार्यक्रम पृथक भएको उल्लेख गर्दै, यस कार्यक्रमले थप कर्तव्य बोध भएको स्पष्ट पार्नु भयो ।कार्यक्रममा व्यवसायी चन्द्रकृष्ण कर्माचार्यले राजमार्गको पुनर्निर्माणसँगै बजारका स्वरुपमा परिवर्तन आएको उल्लेख गर्दै, अझै पनि केही स्थानमा टाउन प्लानिङ गर्न सकिनेमा जोड दिनु भयो । अर्का व्यवसायी बाबुराम गिरीले राजमार्गबाट विस्ताथपित भएका बजारलाई भित्री सडक व्यवस्थित गरी स्थानान्तरणको योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले वडा बिकासका लागि तीन तहका सरकारविच समन्वय हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगमा कार्यरत सन्तोष ढुंगाना, निर्वतमान वडाध्यक्ष नारायणप्रसाद बराल, शिक्षाविद् रविप्रसाद बराल, तारा शर्मा पूर्वउपसचिव रामजी बराल, व्यवसायी छत्रधर आत्रेय, डा. ग्रिष्ममोहन भट्टराई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, डा. उदय ढुंगाना, बैकुण्ठ बराल, सुदीप अधिकारी, नारायण लामिछाने, सञ्चारकर्मी भीमपाणी बराल, इन्जिनियर सन्दीप पौडेल लगायतले दिगो विकासका लागि सुझाव दिएका थिए । कार्यक्रममा वडा नम्बर २६ का सूचना अधिकारी नवराज सापकोटाले सहजीकरण गरेका थिए ।