पोखरा । केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिन बुधबार गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको हो । १ सय ३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १ सय ६ रन बनायो ।
ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारी खेल्नुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८ दशमलव ४ ओभरमा १ सय २ रन बनाउँदा अल आउट भयो । यसअघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो भने यो उसको दोस्रो जित हो । ग्रेट हिमालयन क्रिकेट २ वटै खेल हारेको छ ।
समूह बि तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले चितवनलाई ६ विकेटले पराजित गरेको छ । १ सय १९ रनको लक्ष्य पाएको हिमालयनले १२ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८ दशमलव १ ओभरमा १ सय १८ रनमा अलआउट हुन पुग्यो । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो । समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक छ । सेमीफाइनल प्रवेशका लागि बिहीबार दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको सम्भावना सकिएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको दोस्रो संस्करणको केपी ओली कपमा १६ टिमको सहभागिता रहेको छ । १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ भने समूह विजेता समेफिाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् ।