पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५ सय ११ रुपियाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । गत फागनु ३ गते भएको १९ औँ संस्करणको पोखरा म्याराथनमा .९३ लाख ७० हजार ६ सय ८९ रुपियाँ आम्दानी र ८१ लाख ४१ हजार १ सय ७७ रुपियाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिनुभयो ।
म्याराथनमा बचत भएको उक्त रकम अहिले सम्मकै धेरै हो । आर्थिक अभावका कारणका तीन–तीन पटक स्थगित पोखरा म्याराथनले कोभिड पछिका तीन वर्ष घाटा समेत ब्यहोरेको थियो ।पोखरा म्याराथनको प्रर्वद्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले मञ्चले सुरू गरेको अक्षयकोष अभियानमा ३१ लाख ५४ हजार २ सय ५६ रुपियाँ संकलन भएको कोषाध्यक्ष बरुवालले बताउनुभयो ।
२० औं संस्कणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबारका दिन आयोजना हुने मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले जानकारी दिनुभयो । मञ्चले २० औँ सस्करणको लागि खेलाडी दर्ता प्रक्रियासमेत सुरु गरेको छ । १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सनले जितेका थिए ।
नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको छ । मञ्चले रजत वर्ष महोत्सव गरी मनाउने तय गरेको छ । रजत वर्षमा आयोजना गरिने विविध कार्यक्रमसँगै खेलकुदमा योगदान पु¥याउने एक जनालाई प्रदान गर्ने गरी राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कारको राशि एक लाख रुपियाँ रहनेछ । मञ्चले आगामी वैशाख ८ रजत वर्ष महोत्सव गर्ने गरी अध्यक्ष दिलबहादुर गुरूङको संयोजकत्वमा ३ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।