पोखरा । सरकारले २०८७ सालमा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएकामा गण्डकी प्रदेशमा चार नगरपालिका बालमैत्री घोषणा भएका छन् । बुधबार बागलुङको बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएसँगै गण्डकीमा बालमैत्री नगरपालिकाको सङ्ख्या चार पुगेको हो ।
बुधबार बागलुङमा सदरमुकाममा आयोजित समारोहमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिँहले उक्त घोषणा गर्नुभएको थियो । विसं २०७५ मा नवपुरको देवचुली नगरपालिकालाई प्रदेशकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो ।
विसं २०७७ मा स्याङ्जाको भिरकोट नगरपालिका र गत वर्ष बागलुङकै गलकोट नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । बालमैत्री स्थानीय शासन, राष्ट्रिय रणनीति, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा विभिन्न ५१ सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका/गाउँपालिका घोषणा गर्न सकिने व्यवस्था छ ।
बाल बचाउमा १४, बाल संरक्षणमा १०, बाल विकास र बाल सहभागितामा छ÷छ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ वटा सूचक पूरा भएपछि बागलुङलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको बागलुङका बालमैत्री नगर सम्पर्क व्यक्ति नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ५१ सूचकमा प्रदेश सरकारले गरेको मूल्याङ्कनमा बागलुङ नगरपालिकाले ९२ अङ्क हासिल गरेको छ । नगरपालिकाका १४ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेपछि नगरपालिकालाई घोषणा गरिएको हो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री घोषणाको प्रभावकारी कार्यान्वयन र दिगोपनाका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालमैत्री नगर निर्माणमा सबै पक्षको उत्तिकै भूमिका र दायित्व रहने बताउनुभयो ।