पोखरा । प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पत्ति शुद्धीकरणको आरोपमा निलम्बित भएका छन् । कास्की जिल्ला अदालतमा दायर मुद्दामा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार कुनै राष्ट्रसेवक वा संगठित संस्थाको पदाधिकारी वा कर्मचारीमाथि यस्तो मुद्दा दायर भएमा उनी स्वतः निलम्बित हुने व्यवस्था छ । प्रतिनिधि सभा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गर्दै लामिछाने सांसद पदबाट निलम्बित भएको जानकारी गराएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्की (अपराध अनुसन्धान तथा कारबाही शाखा) ले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद्का महासचिव पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् ।