पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालयमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
गरिमा विकास बैंक, पोखराका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गरिमा विकास वैक, सभागृहचोक शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रानाभाटका अनुसार गरिमा विकास बैंकमा अहिले ९ लाख सेवाग्रही रहेका छन् ।
बैंकको ५ दशमलव ६८ अर्व चुक्ता पूँजी रहेको छ । गरिमाका देशभर १ सय २३ शाखा, १ एक्सटेन्सन काउन्टर, ५१ वटा एटिएम र सात वटै प्रदेशमा सेवा रहेको छ । बैंकमा आज शुक्रबारसम्म ८४ दशमलव ७५ अर्ब डिपोजिट र ७३ दशमलव ५० अर्ब लगानी रहेको रानाभाटले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई एउटा बेथलाइजर र एउटा रंगिन प्रिन्टर सहयोग गरेको छ ।