काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयको बिहीबार आकस्मिक निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेको बेलामा मन्त्रीले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बन्द्ध शाखाको निरीक्षण गरिन् ।
निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्रांकनका दृष्टिृले त्रुटिरहित बनाउन सुझाव दिइन् । सो अवसरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बम्द्ध काम गर्ने शाखाको निरीक्षणगरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकी थिइन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिइन् । निरीक्षणपछि उनले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने बताइन् ।
उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रब्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पु¥याइ विशेषतः कक्षा १० र १२ को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराइन् । प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि व्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई आग्रह गरिन् । कार्यालय निरीक्षणका क्रममा केही कर्मचारी कार्यकक्षमा अनुपस्थित भएको र सो बारेमा पनि मन्त्री भट्टराईले चासो राखेकी थिइन् ।