पोखरा । पर्यटनको राजधानी पोखरामा भर्खर अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड सुरु भएको छ । लेकसाइडस्थित वाराहीघाटबाट दौड सुरु भएको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका हुन् ।
६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए । दौडमा भाग लिन चिनिया धावक बिहीबार नै पोखरामा आएका थिए । चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरा आएको हो । दौडमा खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा हुने पहारीले बताए ।
५० किलोमिटर दुरीको समूहगत दौड पोखराको लेकसाइडस्थित वाराही घाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहनेछ । ५० किमी पर्वतीय दौड बाराहीघाट,राष्ट्रबैंकचोक, विरौंटा छोरेपाटन, रामदी, फुस्रेखोलाहुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन हुनेछ । सो प्रतिस्पर्धामा खेलाडीहरुले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्ने आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।
दौडको हिमालयन टुरिजम फोरम, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजनामा गरेका हुन् । प्रतियोगिता तेस्रो संस्करण हो । च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुने अध्यक्ष पालिखेले बताए । वाराही घाटबाटै सुरु भएको यस विधामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दुरी पार गर्नुपर्नेछ । जसमा १ सय जना नेपाली र ५२ जना चिनिया गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरको हुने जनाइएको छ । सो विधामा ५ सय जना विद्यार्थीले नाम दर्ता गराइसकेको अध्यक्ष पालिखेले जानकारी दिए ।
प्रतियोगिताको आकर्षणका रुपमा ह्याप्पी रन दौड हुनेछ । प्रतियोगितालाई रमणीय र आकर्षक बनाउने उद्देश्यले राखिएको सो प्रतिस्पर्धा २ किलोमिटरको हुनेछ । जसमा प्रमुख अतिथि, विशिष्ट अतिथिसहित ५ सय ७९ जनाले सहभागिता जनाउने उनले बताए । प्रतियोगिताको समूहगत बिजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीय हुनेले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौथो हुनेलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौं हुनेलाई ९५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।
च्यालेन्ज इण्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुबै तर्फको बिजेताले १ लाख ५२ हजार ८ सय, उपबिजेता दुबै तर्फकाले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुबै तर्फकाले ७६ हजार ४ सय, चौंथोदेखि सातौंसम्म हुने दुबै तर्फका प्रत्येकलाई ३८ हजार २ सय र आठौंदेखि दशौं स्थानसम्मका दुबै तर्फकालाई जनही १९ हजार २ सय रुपैयाँ प्रदान गरिने पालिखेले जानकारी दिए । विद्यार्थी तर्फ छात्र तथा छात्रातर्फका बिजेताले समान ३० हजार रुपैयाँ, उपबिजेता बनेका दुबै तर्फकाले २५ हजार रुपैंयाँ, तृतीय हुने दुबै तर्फकाले २० हजार तथा चौंथोदेखि छैटौं स्थानसम्म प्राप्त गर्ने सबैलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
प्रतिगोगिता अन्तर्गत शुक्रबार पोखराको बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी भएको हिमालय फोरमका अध्यक्ष पालिखेले जानकारी दिए । दौडपछि कात्तिक २५ गते स्वदेशी तथा विदेशी खेलाडीहरुले पोखरा यस आसपासका पर्यटकीय गन्तव्यहरुको दृश्यावलोकन गर्नेछन् ।