काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय समन्वय संयन्त्र बनाएका छन् ।
संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन् । एमाले–कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने भएका छन्। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएको बताइएको छ ।
प्रदेश र जिल्ला तहमा पनि समन्वय संयन्त्र बनाउने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ । प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको गौतमले बताए । कांग्रेसले भने प्रदेश र जिल्ला तहको संयन्त्रका सदस्यहरुबारे निर्णय लिन सकेको छैन ।